पोखरा । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको मिचाउङ नामक सामुद्रिक आँधीकोसमेत आंशिक प्रभाव रहेको छ ।
जसको प्रभावले हाल कोशी र मधेस प्रदेशका साथै देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ ।
आज राति भने गण्डकी, कोशी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
कोशी प्रदेशका र मधेस प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।





