
पोखरा । जिल्ला प्रहरी कार्यालय तनहुँले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । उनीहरु व्यास नगरपालिका वडा नं. १३ छाब्दी दोभानस्थित बुद्धसिं मार्गबाट पक्राउ परेका हुन् ।
बेलबासबाट दमौली आउने क्रममा बुद्धिमान गुरुङले चलाई ल्याउँदै गरेको ग२२प ५८३६ नम्बरको स्कुटर चोकजाँच र खानतलासी गर्नेक्रममा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा व्यास नगरपालिका वडा नं. ३ बस्ने बर्ष ३२ को बुद्धिमान गुरुङ र तनहुँ व्यास नगरपालिका वडा नं. २ भेटघाटचोक बस्ने बर्ष ३४ की सहिदा भन्ने सना खान रहेका छन् ।
उनीहरुको साथबाट लागूऔषध डाइजापाम ३८ एम्पुल, बप्रिनोफिन ३५ एम्पुल र प्रोमेथाजिन हाइडोक्लोराइड ३९ एम्पुल गरी कूल ११२ एम्पुल बरामद भएको छ ।
प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार उनीहरु विरुद्ध लागूऔषध मुद्दामा तनहुँ जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।





