लेखनाथ महोत्सव सफल बनाउन आमा समूह सक्रिय

  • पोखरा न्यूज
  • २०८० मंसिर २२
लेखनाथ महोत्सव सफल बनाउन आमा समूह सक्रिय

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको १९औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवलाई मध्यनजर गर्दै यस क्षेत्रमा रहेका संघसंस्था तथा महिला आमा समूहको शुक्रबार बसेको भेलाले महोत्सव सफल पार्न सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोड दिए ।

भेलामा संघका पूर्वअध्यक्ष एवं महोत्सवका निर्देशक चतुराखर अधिकारीले लेखनाथ महोत्सव नेपालकै उत्कृष्ट महोत्सव भएको दावी गर्दै महिला आमा समूहहरुको सक्रियताका कारण लेखनाथ महोत्सवले उचाई हासिल गरेको बताउँँदै आगामी दिनमा यस्तै साथ सहयोग पाउने विश्वास व्यक्त गरे ।

यस्तै, पोखरा महानगरपालिका कार्यपालिका सदस्य निर्मला पौडेलले लेखनाथ हाम्रो पहिचान भएको र यसलाई जोगाउने एक मात्र संस्था लेखनाथ उद्योग वाणिज्य संघ र लेखनाथ महोत्सव भएको बताउँदै १९औं संस्करणको लेखनाथ महोत्सवलाई एक मन र एकताका साथ सफल बनाउन महिला दिदिबहिनीहरुले सहयोग पुर्याउनुपर्ने बताएकी थिइन् ।

महिला समूहहरुको तर्फबाट बोल्दै पार्वती थापाले लेखनाथ महोत्सवलाई सफल पार्नुपर्ने कताउँदै महिलाहरुको उद्यमशिलताको विकास, क्षमता अभिवृद्धि, आयआर्जन लगायतका विषयमा विगतका दिनमा पनि संघल पहल गर्दै आईरहेको र आगामी दिनहरुमा यसतर्फ महिला दिदि बहिनीहरुले चासो बढाउनुपर्ने समेत बताएकी थिइन् ।

लाका सहभागीहरुले महोत्सवमा महिला/आमा समूहहरुको सक्रियता उल्लेख्य हुने गरेको र संघले पनि त्यसलाई अझै व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए । अधिकांशले मातृशक्तीको सम्मानमा आयोजना गरिने कार्यक्रम रत्यौली प्रतियोगिता अलि तामझामपूर्ण र भड्किलो बन्दै गएकोमा यसतर्फ आयोजकले ध्यान दिनुपर्ने बताएका थिए ।

संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले भेलामा उठेका सुझावहरुलाई मनन गर्दै यस पटककको रत्यौली प्रतियोगितामा गीत, भेषभूषा र प्रस्तुतिको आधारमा मूल्याङ्कन हुने र त्यसमा बाजागाजा लगायतका कुराहरु स्वेच्छिक हुने र त्यसको आधारमा अंक नदिइने बताएका थिए ।

उनले महिला दिदिबहिनीहरुका उत्पादनहरु प्रदर्शन एवं विक्रीका लागि महोत्सवमा चार वटा निःशुल्क स्टलको व्यवस्था गरिएको बताउँदै त्यसको लाभ लिनसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा झाँकी र्याली व्यवस्थापन उप-समितिकी संयोजक एवं पोखरा महानगरपालिका वडा नं. २७ की वडासदस्य बुद्धिमाया मगरले महोत्सवले सम्पूर्ण जातजाती, भाषाभाषी एवं समुदायका मानिसलाई एकैथलोमा जम्मा गरेर मौलिक संस्कार र संस्कृतिको जर्गेना गर्ने काम गरेको बताउँदै यसपाली महोत्सवमा झाँकी र्याली अझै व्यवस्थित गरिनुका साथै विगतका योगदानलाई अझै कदर गर्ने प्रयास गरिएको बताएकी थिइन् ।

संघका सल्लाहकार एवं महिला/आमा समूह परिचालन उपसमितिका संयोजक सन्ध्या दाहालको अध्यक्षतामा बसेको कार्यक्रमको सञ्चालन संघकी महासचिव जानुका पराजुलीले गरेकी थिइन् भने धन्यवाद ज्ञापन रत्यौली कार्यक्रमकी संयोजक एवं महिला उद्यमी उपसमितिकी संयोजक गंगा कुमारी मल्लले गरेकी थिइन् ।

पुस ५ गतेदेखि १६ गतेसम्म सञ्चालन हुने महोत्सव सम्पन्न गर्नका लागि नौ सदस्यीय निर्देशक समिति, ४१ वटा उपसमिति र १२० सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ ।

देशको अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादक र उपभोक्तालाई एउटै थलोमा जमघट गरि यस क्षेत्रको आर्थिक गतिविधि बढाउने र आन्तरिक एवं बाह्य पर्यटकहरुलाई आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्‍याउने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको प्रचार-प्रसार समितिका संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ ले बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस