
ढोरपाटन । बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका-५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो ।
गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।
सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ । चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उनको भनाइ छ ।
चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसि क्यामेरामा एक अर्धबैंशे पुरुष अनुहारमा मुकुण्डो लगाएर झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसि क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए ।
चोरी भएको ठाउँमा प्रहरीलाई सिभिलमा खटाइने र सिसि टिभी फुटेज फेला परेको हुँदा त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ ।





