पर्यटक यातायात व्यवसायी संघ गण्डकीमा दाहाल निर्वाचित

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशको अध्यक्षमा दुर्गादत्त दाहाल निर्वाचित भएका छन् ।

संघको पाचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।

संघको निवर्तमान अध्यक्षमा बाबुराम पाण्डे, प्रथम उपाध्यक्षमा रविप्रसाद आचार्य, द्वितीय उपाध्यक्षमा सूर्यबहादुर घले, महासचिवमा विकासप्रसाद कंडेल, सचिवमा श्यामप्रसाद लामिछाने, कोषाध्यक्षमा शोभाखर तिवारी र सहकोषाध्यक्षमा भुवानीप्रसाद अधिकारी छन् ।

यसैगरी संघको समिति सदस्यहरूमा संगीता अधिकारी, सुमन कुँवर, आनन्दराज अधिकारी रहेका छन् । कार्यसमिति दुईजना सदस्य पछि मनोनयन गरिने बताइन्छ ।

यसअघि साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितप्रकाश आले मगरले गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए ।

उनले विगतमा कोभिड लगायतका कारण पर्यटन क्षेत्र प्रभावित बनेपनि अब त्यसको प्रभाव घट्दै गएकोले पर्यटन प्रवर्द्धनका गतिविधि अघि बढाउनुपर्ने बताए । पर्यटन क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको भन्दै उनले पर्यटनबाट समृद्धि हासिल गर्न सकिने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटनका माध्यमबाट गण्डकी प्रदेशलाई आर्थिक रुपमा सबल र सक्षम बनाउन सकिने बताउँदै सरकारको बजेटमा पर्यटन प्रवर्द्धन र विकासमा जोड दिनुपर्ने बताए ।

पोखरा-मुग्लिन सडक निर्माणको ढिलासुस्तीले पोखराको पर्यटनलाई प्रभावित बनाएको बताउँदै यसलाई यथासीघ्र सम्पन्न गराउन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष बाबुराम पाण्डेले सवारी यातायातमा इम्बोस्ड नं राख्ने नाममा पर्यटक यातायातको पहिचान नै हराउने होकी भन्ने चिन्ता बढाएको बताउँदै पहिचान कायम हुनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन यातायात व्यवसायी संघका केन्द्रीय अध्यक्ष बेदराज बास्तोलाले पर्यटक यातायात व्यवसाय जोखिमयुक्त व्यवसाय भएको बताउँदै अव्यवस्थित सडक, बैंकको बढ्दो ब्याजदर लगायतका कारण व्यवसाय नै समस्यामा गुज्रिरहेको बताए । पर्यटक सवारी साधनलाई पहिचान खुल्ने गरी इम्बोस्ड नम्बर सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष बोबरजंग गुुरुङ, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् सल्लाहकार सोमबहादुर थापा, पोखरा महानगरपालिका वडा नं ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराई लगायतले सरकारको पर्यटनमैत्री नीति आवश्यक भएकोमा जोड दिए ।

उक्त अवसरमा संघका सल्लाहकार गणेशबहादुर सापकोटा, सवारी चालकद्वय राजकुमार परियार र सूर्यबहादुर विश्वकर्मालाई पनि सम्मान गरिएको थियो ।

संघका अध्यक्ष बाबुराम पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष एवम् कार्यक्रम संयोजक दुर्गादत्त दाहाल र सञ्चालन विकास कंडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button