कुनै पनि दलले जनताको अपेक्षाअनुसार काम गर्न सकेनन् : नेता भण्डारी

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले कुनै पनि राजनीतिक दलले जनताको अपेक्षाअनुसारको काम गर्न नसकेको बताएका छन् ।

नेपाली कांग्रेस कास्की क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै नेता भण्डारीले नेपाली कांग्रेसको नेतृत्वमा ठूलाठूला परिवर्तन भएपनि नेताहरु आन्तरिक विवादमै रुमलिँदा देश अघि बढ्न नसकेको बताए ।

उनले भने, ‘कांग्रेसको नेतृत्वमा २००६, २०४६ सालको आन्दोलन सफल बनाए पनि नेताहरुले देशलाई सहि दिशानिर्देशन गर्न सकेनन् । चाहे गणेशमानजी, चाहे किसुनजी, चाहे गिरीजाबाबु नै किन नहोस्, उहाँहरु आन्तरिक विवादमै रुमलिनुभो । जसले गर्दा देश अघि बढ्न सकेन ।’

संघीय सांसदसमेत रहेका नेता भण्डारीले विभिन्न कालखण्डमा राणाशासन फाल्नेदेखि प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याउने तथा संविधान निर्माण गर्नेसम्मका कामहरु गरिए पनि अझै पनि जनतामा एक प्रकारको वितृष्णा रहेको उल्लेख गरे । यसका लागि राजनीतिक दलहरु सच्चिन आवश्यक रहेको नेता भण्डारीले स्पष्ट पारे ।

उनले सक्षम व्यक्तिलाई नेतृत्वले जिम्मेवारी नदिँदा पार्टी कमजोर बन्दै गएकोसमेत बताए । ‘पार्टीभित्र हरेक समस्यासँग जुध्नसक्ने नेता कार्यकर्ताको अहिले खाँचो छ’, नेता भण्डारीले भने, ‘कांग्रेसका नेता कठिन दिनमा लड्दा र सुखका दिनमासमेत एक हुन सकेनन्, यो दुर्भाग्य हो ।’

सरकालाई गम्भीर बनाउन पार्टीका सबै नेता एक ठाउँमा उभिनुपर्नेमा भण्डारीको भनाइ छ । ‘नेपाली जनता टाउकोमा त्रास नै त्रास बोकेर बसेका छन्, यस्तो बेला सरकार गम्भीर भएर जनताको पक्षमा काम गर्नुपर्छ, त्यसो गराउन कांग्रेस एकजुट हुनुपर्छ‘, उनले भने ।

एउटा सही मानिस छान्दा धेरै काम हुन सक्ने भएकाले नेतृत्व भनेको अत्यन्त महत्वपूर्ण कुरा भएको उनको भनाइ छ । ‘सभापतिले नेतृत्व गर्ने मानिस चुन्दा अर्जुन जस्तो पात्र चुन्नुपर्छ’, उनले भने । ‘कमजोर मानिसलाई नेतृत्वमा लैजाँदा कांग्रेस कजोर भयो, कोरोनाले कमजोर मानिसलाई ढालेजस्तै कांग्रेसभित्रको कोरोनाले कांग्रेसलाई कमजोर बनायो’, भण्डारीले भने ।

पार्टीमा गुटको नाममा एकले अर्कालाई कमजोर बनाउँदै लगेको उनले बताए । ‘यसले कांग्रेसलाई नै अप्ठेरोमा पारेको छ, त्यसैले गुटको अन्त्य गरेर कांग्रेस अघि बढ्नुपर्छ’, भण्डारीले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले अन्य राजनीतिक दलहरु मिसन ८४ को अभियानमा जुटे पनि नेपाली कांग्रेस रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितलाई त्रिपालबाट अस्थायी टहरामा सार्न केन्द्रित भएको बताए ।

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीले प्रदेश कार्यसमितिलाई बेवास्ता गर्ने काम गर्दै आएको भन्दै यस्तो प्रवृत्ति सच्चिनुपर्नेमा जोड दिए ।

पार्टीको संगठनलाई उपेक्षा गरेर राम्रो परिणाम ल्याउन नसक्ने भन्दै उनले कांग्रेसभित्र मात्र होइन बाहिर पनि कांग्रेसको विकल्प खोज्न थालिको छ । हामी गम्भीर भएर छलफल गर्नुपर्ने बताए । युवा, देश र राष्ट्रियताको भविष्य कांग्रेसमै छ भनेर सबैले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बेला आएको उनको भनाए छ ।

नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले पार्टीले युवा पिँढीलाई कृषि र उद्यमशिलतासँग जोड्न सकेमात्र देश समृद्ध बन्ने विश्वास व्यक्त गरे ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीले हरेक राजनीतिक दल र नेताहरुले भाषण मात्र गरेर नहुने भन्दै देशलाई समृद्धितर्फ लैजाने कुरालाई व्यवहारमै लागू गर्नुपर्ने खाँचो औंल्याइन् ।

अहिले समय सभा समारोहका लागि खर्च गर्न नहुने भन्दै उनले डिजिटल प्रविधिमार्फत आफ्ना विचारहरु जनतामा पुर्याउनुपर्नेमा उनले जोड दिइन् ।

एकले अर्कालाई गाली गालौज गर्न छाडेर हरेक पार्टीले महिला र बालिबालिकाका क्षेत्रमा धेरै लगानी गर्नुपर्नेमा समेत अध्यक्ष भण्डारीले जोड दिइन् ।

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु देवराज चालिसे, कृष्ण केसी, लक्ष्मी पाण्डे, रंगीला आचार्य, नम्रता बराल, पार्टीका पोखरा महानगर सभापति सुरेन्द्र विजुक्छे, नेता वीरेन्द्र नारायण विजुक्छे लगायतले बोलेका थिए ।

पार्टी सभापति केशर निर्दोषीको सभापतित्वमा भएको कार्यक्रममा उपसभापति प्रदेश २ (ख) का सभापति दीपेन्द्र मर्सानीले स्वागत र सचिव देवकृष्ण पराजुलीले कार्यक्रम सञ्चालन गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button