नेपाल दोश्रो खेलमा पनि पराजित

पोखरा । यूएईमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा लगातार दुई हारसँगै नेपाल एक खेलअघि नै सेमिफाइनलको होडबाट बाहिरिएको छ ।

पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा आइतबार अफगानिस्तानसँग पराजित भएको हो । खेलमा नेपाल ७३ रनले पराजित भयो ।

दुबईमा भएको खेलमा नेपालले २६२ रनको चुनौती पछ्याउने क्रममा ४०.१ ओभरमा अलआउट हुँदै १८८ रनमा समेटियो ।

नेपालका लागि ओपनर अर्जुन कुमालको मात्र ब्याटिङ चलेको थियो । उनले १०८ बलमा ९१ रन बनाए पनि अन्य कोही ब्याटरले साझेदारी नगरेपछि नेपाल सहजै पराजित भयो ।

कप्तान देव खनालले २४ रन बनाएका थिए । चार खेलाडीले रनको खातासमेत खोल्न सकेनन् । अफगानिस्ताका फरिदून दाउदजाई र नसिर खान मारुफखिलले ३-३ विकेट लिए ।

यसअघि खेलमा टस जितेर नेपालले पहिले बलिङ गर्दै अफगानिस्तानलाई ४९.३ ओभरमा २६१ रनमा रनमा रोकेको थियो ।

अफगानिस्तानका जम्शेद जर्दानले रिटायर्ड आउट हुनुपूर्व १५३ बलमा १०६ रन जोडे । त्यस्तै मुनमान शाहले ४१ बलमा ६० रन बनाए ।

नेपालका लागि गुल्सन झा, सुवाश भण्डारी र हेमन्त धामीले २-२ तथा आकाश चन्द र दिपेश कडेलले १-१ विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । नेपालले पहिलो खेलमा शुक्रबार पाकिस्तानसँग ७ विकेटको हार बेहोर्यो ।

लगातार दुई हारसँगै नेपालको सेमिफाइनल होड सकिएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार भारतसँग खेल्नेछ ।

ग्रुप अफ डेथमा रहेको समूह ए मा नेपाल, पाकिस्तान, भारत र अफगानिस्तान रहेका छन् ।

८ देशले भाग लिएको यू १९ एसिया कपको समूह बी मा बंगलादेश, जापान, श्रीलंका र यूएई रहेका छन् ।

दुवै समूहबाट शीर्ष दुई स्थानमा रहने देशले सेमिफाइनलमा स्थान बनाउने छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button