
पोखरा । नेपाल सुपर लिग अन्तर्गत आज पोखरा थन्डर्स र काठमाडौं रेजर्सबीच खेल हुँदैछ । खेल दशरथ रंगशालामा साँझ ५ बजे हुनेछ ।
आज दुवै टिमसामु जित निकाल्दै क्वालिफायर/इलिमिनेटर प्रवेशका लागि आफ्नो स्थिति बलियो बनाउने मौका रहेको छ । पोखरासामु जितसँगै अंक तालिकाको शीर्ष स्थानमा उक्लने अवसर पनि छ ।
यो स्थितिमा पोखरा यसपल्ट लिग तालिकामा दोहोरो अंक छुने पहिलो टिम हुनेछ ।
पोखरा चार खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ । यी चार खेलमा दुई जित दुई बराबरी रहेको छ ।
यो सिजन अपराजित तीन टिममध्ये पोखरा पनि एक रहेको छ ।
पोखराले एफसी चितवन र स्पोर्टिङ इलामलाई समान १–० ले हराएको थियो । उसले ललितपुर सिटी एफसीसँग गोलरहित र झापा एफसीसँग १-१ को बराबरी खेलेको थियो ।
यता, काठमाडौंको चार खेलबाट पाँच अंक छ र पाँचौं स्थानमै छ । यी चार खेलमा एक जित, दुई बराबरी र एक हार रहेको छ ।
काठमाडौं आफ्नो पछिल्लो खेलमा बुटवल-लुम्बिनीको हातबाट २-१ ले पराजित भएको थियो ।
त्यस अगाडि उसले इलामलाई १-० ले हराएपछि चितवनसँग १-१ र झापासँग गोलरहित बराबरी खेलेको थियो ।





