पोखरा-१९ घार्मीको ओमकारेश्वरमा शतबीज छर्नेको घुइँचो

पोखरा । पोखराको धार्मिक पर्यटकीय स्थल घार्मीमा बालाचर्तुदशी पर्व मनाइएको छ । पोखरा महानगरपालिका वडा नं. १९ स्थित घार्मीमणिमा रहेको ओमकारेश्वर महादेव मन्दिर परिसरमा सयौं भक्तजनको सहभागितामा शतबीज छरि बालाचर्तुदशी पर्व मनाईएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेलले जानकारी दिए ।

मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको थियो । रुद्री पूजा सकेपछि मात्रै शतविज छर्ने धार्मिक परम्परा भएपनि बिहानै भक्तजनको भिड लागेको बताइएको छ ।

स्थानीय राम्चे निवासी हिमलाल पौडेलको घरबाट विधिपूर्वक पूजाआजा गरी निकालिएको फूलको डोली भजन कीर्तनसहित विभिन्न भागको परिक्रमा गरी मन्दिर परिसर पुर्याइएको थियो । बिहानैबाट सुरु भएको शतविज छर्ने कार्य साँझ अवेरसम्म चलेको मन्दिरका पुजारी रामचन्द्र पौडेलले बताए ।

त्यसक्षेत्रमा शतविज छर्न लामाचौर, बाटुलेचौर, हेम्जा, अर्मला, कुरेचौर, हरिपाउँ, पुरुञ्चौर लगायतका क्षेत्रबाट भक्तजन आएको स्थानीय नमराज पौडेलले जानकारी दिए । चोखो नितो गरी शुद्ध भई शतविज छर्नाले पितृ उद्घार हुने धार्मिक जनविश्वास छ ।

विश्व हिन्दू महासंघ पोखरा-१९ र भूमे मैदान भजन समूहले दिनभर भजनकीर्तन गरी सहभागी भक्तजनलाई मनोरञ्जन दिएका थिए ।मनकामना आमा समूहले भक्तजनका लागि पानी तथा प्रसादको व्यवस्थापन गरेका थिए ।

पछिल्लो समय विभिन्न व्यक्ति र संघ-संस्थाको सहयोगमा मन्दिरलाई व्यवस्थित गरिएको र बिहान-बेलुका नियमित पूजाआजा गरिएको समितिका कोषाध्यक्ष तेजेन्द्र पौडेलले बताए ।

स्थानीय शिवप्रसाद पौडेलले यस क्षेत्र हिन्दूहरुको पवित्र भूमि भएको बताउँदै यसको वृहत्तर विकासका लागि क्षेत्र विकास समितिमार्फत सबैलाई समेट्न सुझाव दिए । उनले सहभागीले घार्मीको धार्मिक पर्यटन विकासका लागि तीन वटै तहका सरकारको ध्यान पुग्नुपर्नेमा जोड दिए ।

पोखराको दृश्यसहित अन्नपुर्ण हिमश्रृंखला र माछापुच्छ्रेकाे दृश्य नजिकैबाट देख्न सकिने उक्त क्षेत्रमा दिनहुँ सयौं पर्यटक पुग्ने गरेका छन् । मन्दिर स्थापनादेखि नै त्यहाँ बालाचतुर्दशी तथा शिवरात्री पर्व विशेष रुपमा मनाउने गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button