नदीजन्य सामाग्री ढुवानी तथा ओसार-पसार गर्न पोखरा महानगरले तोक्यो यस्तो मापदण्ड

पोखरा । पोखरा महानगरपालिकाको कार्यालयले नदीजन्य सामाग्री ढुवानी तथा ओसारपसार गर्न मापदण्ड तोकेको छ । महानगरभित्र अवैधरुपमा नदीजन्य सामाग्री ओसार पसार र विक्री वितरण भइरहेको जानकारी पाएपछि महानगरले आज मापदण्ड तोकेको हो ।

सुरक्षा निकायका प्रमुखहरुको उपस्थितिमा आज बसेको बैठकले मापदण्ड तोकिएको महानगरपालिकाले जनाएको छ ।

जसअनुसार अबका दिनमा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने भएको छ ।

यस्तै भ्याट, पान नम्बर भएको बिल, पोखरा महानगरपालिकासँग आय ठेक्का सम्झौता भएका घाटहरुको सम्बन्धमा क्रसर उद्योगसम्म नदीजन्य सामाग्री ढुवानी गर्दा महानगरपालिकाबाट जारी भएको कार्यदेश र चलानी पूर्जा अनिवार्यरुपमा साथमा हुनुपर्नेछ । यस्तै क्रसरहरुले नदीजन्य सामाग्री विक्री गर्दा अनिवार्यरुपमा विलविजक जारी गर्नुपर्ने निर्णय भएको छ ।

यसैगरी नदीजन्य सामाग्री विक्री गर्ने डिपोबाट वार्षिक ५० लाख रुपैयाँसम्म कारोबार गर्ने भएमा पान बिल जारी गर्न पाइने र सोभन्दा माथि कारोबार भएमा भ्याट बिल जारी हुनुपर्ने र ढुवानी गर्दा मिति, समय, ढुवानी हुने सवारी साधनको नम्बर, बिल नम्बर खुलेको चलानी पूर्जा चालकसँग अनिवार्यरुपमा हुनुपर्ने भएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले अवैधरुपमा प्राकृतिक स्रोत दोहन गरेको आरोपमा आज ५६ वटा सवारीसाधन नियन्त्रणमा लिएर पोखरा महानगरपालिकालाई बुझाएको थियो ।

आज नियन्त्रणमा लिइएका सवारीमध्ये महानगरको मापदण्ड पालना गरेका ५५ वटा सवारीलाई आधिकारिकताबारे छानविन गर्नका लागि आन्तरिक राजस्व कार्यालय पठाइएको र मापदण्ड पालना नगरेका एउटा सवारीलाई १५ हजार रुपैयाँ जरीवाना गरि छाडिएको महानगर श्रोतले जनाएको छ ।

अवैधरुपमा प्राकृतिक स्रोत दोहन भएको जानकारी पाएपछि महानगरले आज मापदण्डबारे सूचना जारी गरेको हो । महानगरले तोकेको मापदण्ड कार्यान्वयन नगर्नेलाई आर्थिक ऐन बमोजिम कार्वाही हुने बताइन्छ ।

महानगरपालिकाले तोकेको मापदण्ड

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button