
लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी दुर्घटना गराएका भगेका एक जनालाई १३ दिनपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. ७ का बर्ष १८ का सौगात परियार रहेका छन् ।
प्रहरीका अनुसार मंसिर १३ गते परियारले चलाएको ग९प ७६०६ नम्वरको २२० सिसिको पलसर मोटरसाइकले लमजुङको बेसीशहर नगरपालिका वडा नं. २ बोहोरा बेसीस्थित बेसीसहर-डुम्रे सडकखण्डमा ८० वर्षीया बृद्ध महिलालाई ठक्कर दिएको थियो ।
सोही दुर्घटनापछि भागेका परियारलाई खोजतलास गर्नेक्रममा लमजुङको बेसीसहर नगरपालिका वडा नं. ११ स्थित चितिमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीको जनाएको छ ।
टरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी बेसीसहर नगरपालिका वडा नं. २ की बर्ष ८० की मनमाया धितालको मंसिर १५ गते चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।
पक्राउ गरेका परियारविरुद्ध अदालतबाट सवारी ज्यानसम्बन्धी मुद्धामा म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।





