
पोखरा । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण आज रिहा नहुने भएका छन् । उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए पनि विभिन्न काम बाँकी रहेकाले उनी आज रिहा नहुने भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँडमाथि सम्पत्ति शुद्धीकरण र अख्तियारले पनि अनुसन्धान गरिरहेकाले रिहा हुनुअघि कारागारले उनलाई ती निकायमा बुझाउनुपर्ने भएकाले आज रिहा नहुने भएका हुन् ।
आज उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको संलग्नताको अवस्थाको अभाव देखिएको भन्दै धरौटीमा छाड्न आदेश दिएको थियो ।
अब खाँणले ३० लाख रुपैयाँ बराबर नगद, जमानत वा बैंक ग्यारेन्टी बुझाएर रिहा हुन सक्नेछन् । खाँणले यो धरौटी काठमाडौं जिल्ला अदालतमा बुझाउनुपर्नेछ ।
उच्च अदालतको आदेशको पत्र पाएपछि जिल्ला अदालत काठमाडौंले खाँणसँग धरौटी रकम वा बैंक ग्यारेन्टी लिनेछ ।





