|फाइल तस्वीर
पोखरा । प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) ले शुल्क तोक्नेदेखि प्याराग्लाइडिङ उडान गर्नेसम्मको सबै अधिकार व्यवसायीहरुलाई नै सुम्पिएपछि पोखराका पाइलटहरु आन्दोलित भएका छन् । आन्दोलन अन्तर्गत पाइलटहरुले बिहीबार प्याराग्लाइडिङ उडान ठप्प पारे । यस विषयमा शुक्रबार थप छलफल हुने बताइको छ ।
एकद्वार प्रणालीमार्फत उडान गराउने कि सम्पूर्ण अधिकार व्यवसायीलाई दिने भन्ने विषयमा व्यवसायी बीच मै मतभेद रहँदै आएकामा नाले सबै अधिकार व्यवसायीलाई दिने निर्णय गरेको थियो ।
पाइलटहरुले भने अहिलेको अवस्थामा एकद्वार प्रणाली नै कायम हुनुपर्ने माग राखेका छन् । एकद्वार प्रणाली हटाउँदा शुल्कमा प्रतिस्पर्धा हुने, एकरुपता नहुने र त्यसले आफूहरुको आम्दानीसमेत घट्ने पाइलटहरुको आशंका छ । साथै व्यवसायीलाई नै शुल्क तोक्न दिँदा र आलोपालो व्यवस्था पनि हटाइँदा प्याराग्लाइडिङ क्षेत्रमा मनपरी बढ्ने उनीहरुको जिकिर छ ।
‘सम्पूर्ण निर्णय गर्ने अधिकार व्यवसायीलाई नै दिँदा यस क्षेत्रमा बेथिति बढ्छ र अन्ततः व्यवसाय नै धरापमा पर्छ’, पाइलट क्लवका अध्यक्ष दीपक थापा भन्छन् ।
पोखराको प्याराग्लाइडिङ अझै व्यवस्थित होस् भन्ने आफूहरुको चाहना रहेको भन्दै अध्यक्ष थापा अहिले एउटा सिस्टममा चलिरहेको र यसले सबैलाई फाइदा पुर्याएको दावी गर्छन् ।
आफूहरु पनि एकद्वार प्रणालीको पक्षमा नभए पनि कसैले पनि नियन्त्रण नगर्दा अस्तव्यस्त हुन्छ भन्ने चिन्ता लागेको उनी बताउँछन् । नाको निर्णयसँगै व्यवसायीले अब १२ हजार रुपैयाँभन्दा कम वा बढीमा आफूखुसी प्याराग्लाइडिङ उडाउन सक्नेछन् । अध्यक्ष थापा भन्छन्, ‘जुनसुकै बेला, जतिसुकै मूल्यमा प्याराग्लाइडिङ उडाउन पाउने भएपछि यो व्यवसाय झनै अस्वस्थ प्रतिस्पर्धा हुन्छ, अनियन्त्रित हुन्छ र व्यवसाय नै धरापमा पर्छ ।’
यसअघि आधा घण्टा उडान भर्दा प्याराग्लाइडिङ यात्रुसँग १२ हजार रुपैयाँ तोकिएको थियो भने आलोपालो गरेर उडान गराउने व्यवस्था थियो । अहिलेसम्म प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)ले शुल्क तोक्ने र पालो प्रणाली लागू गर्दै आएको थियो ।
एकद्वार प्रणालीको विपक्षमा रहेका व्यवसायीले नाले तोकिदिएको मूल्य महँगो भएको, प्रबर्द्धनात्मक गतिविधिमा सहयोगी नबनेको, सेवा फितलो बनेको र संस्थाले एकाधिकार जमाएको अरोप लगाउँदै आएका थिए । पोखरामा ५२ मध्ये २१ व्यवसायी ना को एकद्वार प्रणालीको विपक्षमा थिए ।
क्यानले ‘ना’ लाई निश्चित अधिकार दिएको छ । नियमन, अनुगमन गर्नेसम्मको काम नाले नै गर्दै आएको छ । कानून अनुसार प्याराग्लाइडिङ उडानको व्यावसायिक अधिकार व्यवसायीहरुमै निहीत हुने भएकाले संस्थाले हस्तक्षेप गर्न नमिल्ने नाका अध्यक्ष सुनिल भट्टराई बताउँछन् ।
उनले भने, ‘नाले एकद्वार प्रणाली लागू गर्दा सिण्डिकेट भयो भन्दै धेरैतिरबाट गुनासो आयो । नागरिक उड्डयन प्राधिकरणले दिएको अधिकारभित्र रहेर यस्तो निर्णय गरेका हौँ ।’ संस्थाले नै कानून विरीतका काम गर्न नसक्ने अध्यक्ष भट्टराईको भनाइ छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution