रुपिन्द्र र रवीन्द्रलाई उत्कृष्ट प्रधानाध्यापक सम्मान

पोखरा । माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोष कास्कीले रुपिन्द्र प्रभावी जोशी र रवीन्द्रनाथ भट्टराईलाई यस वर्षको उत्कृष्ट प्रधानाध्यापक सम्मान प्रदान गरेको छ ।

शुक्रबार पोखरामा आयोजित कोषको १२औँ साधारणसभामा रूपा-२ स्थित शिवालय माध्यमिक विद्यालय प्रधानाध्यापक जोशी र लक्ष्मी आदर्श माध्यमिक विद्यालय पोखराका प्रधानाध्यापक भट्टराईलाई जनही पाँच हजार रुपियाँ नगदसहित सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व जोशी साहित्य र पत्रकारितामासमेत संलग्न छन् । विद्यालयको भौतिक, शैक्षिक र प्रशासनिक सुधारमा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै उनीहरूलाई सम्मान गरिएको हो ।

उनीहरूसँगै भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर कार्की र ब्रह्मरूपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डित, कक्षा १२ मा प्राविधिक धारतर्फ उत्कृष्ट जिपिए ल्याएकी ब्रह्मरूपा माविकी विद्यार्थी रजनी न्यौपाने र साधारण धारतर्फ बालमन्दिर माविकी विद्यार्थी सोनिया अधिकारी, २०७९ को एसइईमा उत्कृष्ट जिपिए ल्याएका शीतलादेवी माविका किशोर अधिकारी र विनिता शर्मा, जनप्रिय माविकी रचना श्रेष्ठ र लक्ष्मी माविकी मेनका शर्मालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रमका शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षकको हितका लागि इकाइले सधैँ सहजीकरण गर्ने बताए । शिक्षक कतै पनि अपमानित हुन नहुने भन्दै उनले दिवा खाजालाई व्यवस्थित गर्न प्रधानाध्यापकहरूसँग आग्रह गरे ।

अपाङ्गता भएका विद्यार्थीहरूसँग विद्यालयले विभिन्न बहानामा शुल्क लिने गरेको गुनासो सुन्नपरेको अनुभव सुनाउँदै प्रमुख आचार्यले त्यस्ता विद्यार्थीसँग कुनै पनि शुल्क नलिन आग्रह गरे ।

माध्यमिक विद्यालय शैक्षिक कल्याणकारी कोषले स्थापना कालदेखि नै सिकाइ र मूल्याङ्कन प्रणालीका लागि महत्वपूर्ण भूमिका खेलेको आफूले देखेको उनको भनाइ थियो ।

कोषका अध्यक्ष शम्भुराज बाँस्तोलाले संस्थाका गतिविधिमाथि प्रकाश पार्दै मूल्याङ्कन प्रणालीलाई विश्वसनीय बनाउने प्रयासमा संस्था अघि बढेको बताए । उनले सामुदायिक विद्यालयको एकतालाई समेत यसले मजबुत बनाएको दाबी गरे ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत प्रकाशबन्धु पोखरेल, नेपाल शिक्षक सङ्घ, कास्कीका अध्यक्ष राजु क्षेत्री, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष रोमहर्षण पौडेल, सम्मानित प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी, सम्मानित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डित, नवप्रभात माविकी प्रधानाध्यापक मायाकुमारी थापालगायतले बोलेका थिए ।

साधारणसभाले सचिव मनिराम कडेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको थियो ।

सोही अवसरमा कास्कीका विद्यालयहरूमा एसइई स्तरीकृत परीक्षा आगामी माघ २२ देखि २९ गतेसम्म सञ्चालन गर्ने गरी समयतालिका सार्वजनिक गरिएको थियो । संस्थाका सचिव मनिराम कंडेलले कार्यक्रम सञ्चालन र उपाध्यक्ष जनार्दन सुवेदीले स्वागत गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button