पोखरा । नेपाल पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा सूर्य प्रेम बहुउद्देश्यीय समाजसेवा ट्रष्टद्वारा स्थापित कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान तीन जना अग्रज पत्रकारलाई प्रदान गरिएको छ ।
सम्मान प्राप्त गर्नेमा नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा. सुरेश आचार्य र पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्षद्वय माधव शर्मा र कृष्णप्रसाद बाँस्तोला रहेका छन् । उनीहरुलाई पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले जनही १ लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मानित गरे ।
पूर्व सांसद, पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्यप्रेम बद्देश्यीय समाजसेवा ट्रस्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति पत्रकार महासंघ कास्कीले सञ्चालन गर्ने गरी हरेक वर्ष अग्रज पत्रकारलाई सम्मानित गरिँदै आएको छ ।
२०७३ सालदेखि वितरण सुरु उक्त सम्मान कोरोनाका कारण ३ वर्षदेखि रोकिएकोमा यसपालि क्रमशः वर्ष २०७७ का लागि डा. आचार्य, वर्ष २०७८ का लागि शर्मा र वर्ष २०७९ का लागि बास्तोलालाई प्रदान गरिएको हो ।
पत्रकारिताको संस्थागत योगदानमा पु¥याएका र लामो समयदेखि पत्रकारितामा क्रियाशील पत्रकारलाई प्रदान गरिने राष्ट्रियस्तरको सो सम्मानबाट यसअघि अग्रज पत्रकारहरु युवराज घिमिरे, बद्रीविनोद प्रतीक, किशोर नेपाल र नारायण कार्की सम्मानित भइसकेका छन् ।
प्रतिभा छनोट समितिमा वर्ष २०७७ का लागि संयोजकमा महासंघ कास्की पूर्व अध्यक्ष पुण्य पौडेल एवं वर्ष २०७८ र ०७९ का लागि संयोजकमा महासंघ कास्की पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक थिए ।
सो अवसरमा कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको रक्षाका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । देउवाले रचनात्मक पत्रकारिताको खाँचो अझै रहेको औंल्याए । पत्रकारितामा ‘ब्याड न्यूज ईज गुड न्यूज फर मिडिया’ मान्ने प्रचलन रहेको भन्दै उनले भने, ‘तर पत्रकारिता कन्स्ट्रक्टिभ हुनुपर्छ । राजनीतिमा जस्तै पत्रकारितामा पनि सुधारको खाँचो छ ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारितामा नियमन जरुरी रहेको बताए । पत्रकारितामा छाडातन्त्र रहेको उनले बताए । गण्डकी प्रदेश सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ,उनले भने,‘तर स्वतन्त्रताका नाममा पत्रकारितामा छाडातन्त्र स्वीकार्न सकिदैन । यसलाई नियमन जरुरी छ ।’
गण्डकी प्रदेशकी स्वास्थ्य तथा सामाजिक विकास मन्त्री सुशीला सिंखडाले पत्रकारिता समाजको दर्पण भएकाले यो जिम्मेवार बन्नुपर्ने बताईन् । अन्य क्षेत्रमाजस्तै पत्रकारितामापनि विकृति भित्रिएकाले यसलाई संग्लाउन पत्रकारहरु नै जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रतिभा छनोट समितिका संयोजकहरु पौडेल र प्रतीक, सम्मानित तीन व्यक्तित्वहरु, पुरस्कार स्थापना गर्ने ट्रष्टका तर्फबाट किरण केसी, महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले बोलेका थिए ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution