लेखनाथ महोत्सव आजदेखि, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

पोखरा । १९औं संस्करणको लेखनाथ महोत्सव आजदेखि सुरु हुँदैछ । आयोजक लेखनाथ उद्योग वाणिज्य संघले महोत्सवको तयारी पूरा भएको जनाएको छ । १६ गतेसम्म सञ्चालन हुने महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गरिएको हो ।

संघका अध्यक्ष एवं महोत्सवका मूल संयोजक विनोद श्रेष्ठले महोत्सवको सबै तयारी पूरा भएको बताए । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्ने कार्यक्रम छ ।

लेखनाथ उद्योग वाणिज्य संघले २०५८ सालदेखि सुन्तला प्रदर्शनीबाट सुरु गरेको महोत्सवलाई समयानुकूल परिष्कृत गर्दै २०६१ सालदेखि लेखनाथ महोत्सव गर्दै आएको उनले बताए ।

आर्थिक मन्दीबाट थला परेको अर्थतन्त्रलाई चलायमान बनाउन, पर्यटन प्रवद्र्धन गर्न, देशमा रहेका औद्योगिक उत्पादनलाई बढवा दिन महोत्सव महत्वपूर्ण हुने महोत्सवका प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी ‘राजु’ को विश्वास छ ।

यस्तै, हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन र सोको पहिचान, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवर्द्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवर्द्धन, जातीय भेषभूषा, कला संस्कृति, रीतिरिवाजको जगेर्ना, आन्तरिक एवं वाह्य पर्यटकहरु आकर्षण गरि आन्तरिक पर्यटनलाई सहयोग पुर्याउने महोत्सवको मुख्य उद्देश्य रहेको उनले बताए ।

महोत्सवमा कवि लेखनाथ पौडेलको सम्झनामा साहित्यिक कार्यक्रम, रत्यौली कार्यक्रम, विद्यालय स्तरीय कार्यक्रम, साँस्कृतिक कार्यक्रम, आदिवासी जनजाति विशेष कार्यक्रम, रीतिरिवाज तथा संस्कृति झल्कने नृत्य प्रदर्शनी, झाँकीर्याली तथा भेषभूषा प्रदर्शनी, ख्यातिप्राप्त हास्यव्यंग्य कलाकारहरुको दैनिक प्रस्तुति, कृषि तथा पशुपंक्षी प्रदर्शनी, सूचना प्रविधि प्रदर्शनी, राष्ट्रिय उत्पादन प्रदर्शनी, शैक्षिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, बाल उद्यान, खाना महोत्सव, राष्ट्रिय लोक दोहोरी कार्यक्रम, लाइभ म्युजिक कन्सर्ट गरिने बताइन्छ ।

महोत्सव स्थलमा ३३४ स्टल राखिनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने र नौ करोडको आर्थिक कारोबार अपेक्षा राखिएको छ । महोत्सवबाट करिब ९० लाख आम्दानी गर्ने, करिब ८० लाख खर्च भई रु १० लाख बचत हुने लक्ष्य राखिएको छ ।

महोत्सवबाट हुने आम्दानीले प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, बेगनासतालमा बराह मन्दिर संरक्षण, कोसेली घर निर्माण, बेगनासतालमा चेम्बरपार्क निर्माण गरिने संघले जनाएको छ ।

महोत्सवका सह–संयोजक राजेन्द्र ओझाले लेखनाथ महोत्सवलाई स्थानीयले चाडपर्वको रुपमा लिंदै आएको दावी गरे । उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गरी आर्थिक चलायमान गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेलेको उनले बताए ।

महोत्सव सञ्चालनका लागि नौ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहकार समिति र ४२ सदस्यीय कार्यसम्पादन समिति एवं उपसमिति संयोजक गठन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button