
पोखरा । यसवर्षको लेखनाथ पत्रकारिता पुरस्कार पोखरामा क्रियाशील पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित पुरस्कारको राशि र. ११ हजार १ सय ११ रहेको छ ।
मञ्चका अध्यक्ष कविराज खनाल, सचिव विष्णुहरि पौडेल, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व पुरस्कृत व्यक्तिहरु मध्येबाट वासुदेव पौडेल र संस्थापक अध्यक्ष भीमपाणि बराल रहेको छनोट समितिले परियारलाई पुरस्कृत गर्न सिफारिस गरिएकोमा मञ्चको बैठकले अनुमोदन गरेको हो ।
२०६४ सालमा जनदिशा दैनिकबाट आफ्नो पत्रकारिता सुरु गरेको परियार हाल कान्तिपुर दैनिकमा आवद्ध छन् ।
उनले सामाजिक न्याय, सुशासन, मानवअधिकार, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विषयमा कलम चलाउँदै आएका छन् ।
परियारले नेपाल पत्रकार महासंघ कास्कीको दुई कार्यकाल सदस्य र एक कार्यकाल सहसचिवका रुपमा जिम्मेवारी सम्हालेका थिए । उनी हाल राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्षसमेत हुन् ।
उनी यसअघि युवा तथा खेलकुद मन्त्रालयबाट खेल पत्रकारिता पुरस्कार, खेलकुद पत्रकार मञ्च गण्डकीबाट उत्कृष्ट खेल पत्रकार अवार्ड, सहारा खेल पत्रकारिता पुरस्कार, बाबा–आनन्द सञ्चार पुरस्कार, मीना गुरुङ सिर्जनशील पत्रकारिता पुरस्कार, सुनास सुशासन पुरस्कार लगायतबाट सम्मानित भइसकेका छन् ।
यो पुरस्कार यसअघि पत्रकारहरु मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, वसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमपाणि बराल र सरिता तिमिल्सेनाले प्राप्त गरिसकेका छन् ।
पुस १५ गते कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीको मूल समारोह अर्घौँअर्चलेमा परियारलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ ।





