पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन हुने

पोखरा । पोखरामा नाटक ‘१२ दुर्वासा’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको गन्धर्व नाटकघरमा यही पुस २६ गतेबाट मञ्चन हुने नाटकको यतिबेला धमाधम रिहर्सल भइरहेको हो ।

अमेरिकन नाटककार रेग्नाल्ड रोजले लेखेको नाटकको नेपाली अनुवाद सुरेश सापकोटाले गरेका छन् । परिवर्तनको निर्देशनमा तयार हुने नाटकमा १३ जना कलाकारले अभिनय गर्नेछन् ।

यो नाटकको लागि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘ट्राभर्स स्टेज’ निर्माण गरिँदैछ । यस्तो स्टेजको प्रयोग गन्धर्व नाटकघरमा पहिलो भएकोले दर्शकले नौलो अनुभवसमेत गर्न पाउनेछन् ।

‘टुबेल एङ्ग्री म्यान’को नेपाली रुपान्तरण रहेको नाटकमा छोराले बुबालाई मारेको हो, होइन भन्ने विषयमा केन्द्रित रहेको छ ।

यो विषयमा अदालतलाई निर्णय गर्न गाह्रो भएपछि फरक-फरक पृष्ठभूमिका १२ जनालाई छलफल गरी निर्णय गर्न लगाइन्छ । उनीहरुको विचारमा देखिने विविधता र सर्घष नै नाटकको विषयवस्तु हो ।

सन् २०५४ मा टेलिप्ले (टेलिभिजन सिरिज) का रुपमा रेग्नाल्डले यो नाटक लेखेका थिए । पछि सन् १९५७ मा फिल्म निर्माण भयो । त्यसपछि यो विश्वव्यापी रुपमा झनै चर्चित बन्यो ।

विश्वका विभिन्न भाषामा यसको फिल्म नाटक निर्माण भएका छन् । यो नाटकले वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक समाजको चित्रण गर्ने भएकोले यो नाटकले नाटकप्रेमीको ध्यान खिच्ने अपेक्षा गरिएको छ ।

नाटकलाई आर्कषक बनाउनका लागि रिहर्सल सुरु भएको निर्देशक परिवर्तनले बताए । यस अगाडि बितेका कुरा, निरमाया, बाकस, एक चिहान, कोही किन बर्बाद होस्, दुई नाटक लगायत निर्देशन गरिसकेका उनले यस नाटकलाई परिपक्क बनाउन मेहनत र तयारी टीम मार्फत गहन ढंगले भइरहेको बताए ।

लगातार विद्यार्थी केन्द्रित नाटक मञ्चन भइरहेको समयमा त्यसभन्दा भिन्न खालको स्वाद पस्कनका लागि यो नाटक उपयुक्त हुने ठानेर मञ्चन गर्न खोजिएको उनले बताए ।

‘गन्धर्व नाटकघरमा लामो समयपछि नियमित मञ्चनको रुपमा १२ दुर्वासा मञ्चन गर्न लागिएको हो । हुनत मैले विगत ५ वर्षदेखि नाटकको स्क्रिप्ट लिएर उपयुक्त समयको प्रतिक्षामा बसेको थिए, जुन समय अहिले निस्कियो’, उनले भने ।

१ घण्टा ३० मिनेट अवधिको यो नाटक प्रचार-प्रसार र व्यस्थापनका लागि बजार प्रबन्धक प्रकाश पराजुली र लेखा हेर्ने शुभेक्क्षा शर्माले काम गरिरहेका छन् । लामो समयमो अन्तरमा खुलारुपमा सबै दर्शकलाई लक्षित गरेर नाटक मञ्चन गर्न लागेको कारण नाटकप्रेमीबाट सकारात्मक रेसपोन्स पाइरहेको उनीहरुले खुलाए ।

नाटक पोखरा थिएटरको प्रस्तुतिमा माघ १३ गतेसम्म मञ्चन हुनेछ । नाटक बुधबार बाहेक हरेक दिन साँझ ४ः४५ बजे शनिबार र आइतबार अतिरिक्त शोको रुपमा दिउँसो १ बजेसमेत नाटक मञ्चन हुने पोखरा थिएटरका संस्थापक सदस्य दिलप्रसाद गुरुङले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button