पोखराको मित्रमिलन सहकारी प्रकरण : पूर्वरजिष्ट्रार पराजुली कास्की प्रहरीमा

पोखरा । पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाबाट एक करोड बढी घुस खाएको आरोपमा सहकारी रजिष्ट्रारको कार्यालय पोखराका पूर्वरजिष्ट्रार उदयबहादुर पराजुलीलाई कास्की प्रहरीले कार्वाही प्रक्रिया अघि बढाएको छ ।

प्रहरीले उनलाई बुधबार पर्वतको कुश्माबाट पक्राउ गरेर पोखरा ल्याएको छ । उनीमाथि अनुसन्धानसँगै र कार्वाही प्रक्रिया सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

पोखरामा दुई वर्ष रहेर काम गरेका पराजुलीले मित्रमिलन सहकारीको कार्यक्षेत्र थपिदिने सर्तमा १ करोड २५ लाख रुपैयाँ घुस लिएको खुलेसँगै उनलाई पक्राउ गर्न प्रहरीले अदालतबाट अनुमति लिएको थियो ।

घुस लिएको कुरा बाहिरिएपछि सहसचिवको परीक्षा दिन जाने बाहनामाम उनी हाल कार्यरत रहेको कुश्मा नगरपालिकाबाट एक साता लामो बिदा लिए । त्यसै दिनदेखि उनी सम्पर्कविहीन भएका थिए ।

लुक्ने र भाग्ने ठाउँ कतैबाट पनि नपाएपछि उनी बुधबार नगरपालिकाको कार्यालयमा हाजिर हुन पुगेका थिए । लगत्तै प्रहरी पुगेर उनलाई कार्यकक्षबाटै पक्राउ गरेको हो ।

नगरपालिकाका एक कर्मचारीका अनुसार उनले ३ देखि ८ गतेसम्मको बिदा लिएका थिए भने १० गते कार्यालय आइपुग्ने भनेका थिए । ‘उहाँ आज कार्यालय आउँदा निकै अत्तालिनुभएको थियो । कसैको मुखै नहेरि सरासर कार्यकक्षमा प्रवेश गर्नुभएको हो’, ति कर्मचारीले भने । पराजुली कार्यकक्षमा प्रवेश गरेको ५ मिनेट नपुग्दै प्रहरी नगरपालिकाको भवनलाई घेरा हाल्दै मेयरको कार्यकक्षमा प्रवेश गरेको थियो ।

सहकारीको आर्थिक अपचलनमा पोखरा महानगरपालिका वडा नं. २१ का वडाध्यक्ष दीपक सुवेदी, पत्रकारद्वय अर्जुन गिरी र विजय लम्साल, अधिवक्ता जनकल्याण पराजुलीसमेत जोडिएका छन् । यस प्रकरणमा ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जसमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ भने २४ जना अझै फरार छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीले सहकारी ठगीको अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा अनुसन्धान फाइल बुझाएको छ । कास्की प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा ३१ करोड ७८ लाख रूपैयाँ बिगो दाबी गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button