पोखरामा २५औँ सडक महोत्सव आजदेखि

पोखरा । प्रत्येक अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजित २५औँ संस्करणको सडक महोत्सव आज बिहीबारदेखि सुरु हुँदैछ । महोत्सव पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने कार्यक्रम छ ।
‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
महोत्सवस्थल राष्ट्रबैंकचोकदेखि खहरेसम्म, बुलौँदीदेखि हलनचोकसम्म करिब ३ किमि क्षेत्रमा ध्वजापताकाले सिँगारिएको छ ।
महोत्सवमा मुख्य आर्कषककारुपमा विभिन्न जातजातिको सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, झाँकी प्रदर्शन, रात्रीकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता रहने रेवानका प्रथम उपाध्यक्ष एवम महोत्सवका संयोजक विश्वराज पोखरेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवमा स्वदेशी उत्पादित हस्तकला, चित्रकला, मूर्तिकला तथा कृषि, वनस्पति लगायतका कृषि उपजहरुलाई प्राथमिकताका साथ प्रदर्शनीको व्यवस्था गरिएको छ ।
पोखराको पर्यटन विकास, प्रवर्द्धन र परिवर्तित समयसँग पोखराको पर्यटनमा देखिएका अवसर तथा चुनौतीहरुको विषयमा टकशो कार्यक्रमसमेत हुनेछ ।
सडक महोत्सवमा शान्ति सुरक्षालाई ध्यान दिएर उपसमिति बनाइएको रेवानका अध्यक्ष नरेश भट्टराईले जानकारी दिए ।
महोत्सवमा बालबालिकाका लागि चित्रकला र साहसिक खेलकुदको वृत्तचित्र प्रदर्शनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिनेछ । महोत्सवमा ३० प्रकारका स्थानीय खाना रहनेछन् ।
नेपालको आर्थिक विकासको प्रमुख आधार रहेको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन, रोजगारी सृजना, समग्र आर्थिक विकास र समुन्नतिमा महोत्वले टेवा पुर्याउने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठको विश्वास छ ।
पोखराको पर्यटन प्रवर्द्धनमा सडक महोत्सवको भूमिका महत्वपूर्ण रहेकोले आगामी दिनमा परिस्कृत र परिमार्जित गर्दै नवितम सोँचका साथ अघि बढाउनुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त कार्यलय प्रमुख नवीन पोखेल बताउँछन् ।
सडक महोत्सवको पूर्व सन्ध्यामा बुधबार महोत्सव स्थल वरपरको ३ किलोमिटर क्षेत्रमा सरसफाइ गरिएको छ ।  होटल प्रतिनिधि समाज पोखराको आयोजनामा भएको कार्यक्रममा रेवानले सहकार्य गरेको थियो । होटल प्रतिनिधि समाजका महासचिव माधव लम्सालका अनुसार पोखराको राष्ट्रबैंकचोकस्थित पर्यटन बसपार्कदेखि खहरेसम्म सरसफाइ गरिएको छ ।
समाजका कार्यवाहक अध्यक्ष एवं वरिष्ठ उपाध्यक्ष सन्तोष काफ्लेको नेतृत्व र उपाध्यक्ष एवं कार्यक्रम संयोजक जीवराज उपाध्यायको संयोजनमा सरसफाई कार्यक्रम भएको हो ।
कार्यक्रममा वडाका जनप्रतिनिधि र होटल संघका अध्यक्षसहितका प्रतिनिधिले पनि साथ दिएका थिए । कार्यक्रमको समापनका अवसरमा रेवानका अध्यक्ष नरेश भट्टराई, होटल संघका अध्यक्ष लक्ष्मण सुवेदी र समाजका महासचिव माधव लम्सालले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button