उपाधि होडबाट बाहिरियो पोखरा

  • पोखरा न्यूज
  • २०८० पौष १२
उपाधि होडबाट बाहिरियो पोखरा

पोखरा । नेपाल सुपर लिगमा पोखरा थन्डर्स उपाधि नजिक पुग्नबाट चुकेको छ । उपाधि नजिक पुग्नका लागि दोश्रो अवसर पाउँदासमेत पोखरा अघि बढ्न सकेन ।

यसअघि धनगढीसँग पराजित भएको पोखरा आज ललितपुरसँग पनि पराजित भएपछि उपाधि होडबाट बाहिरिएको छ ।

पोखरालाई २-१ ले हराउँदै ललितपुर सिटी नेपाल भने फाइनलमा पुगेको छ । दशरथ रंगशालामा भएको दोस्रो क्वालिफायरको ३३ औं मिनेटमा निखिल कदम रातो कार्ड (दोहोरो पहेँलो कार्ड) पाउँदै बाहिरिएपछि १० खेलाडीमा सीमित भए पनि ललितपुरले पोखरालाई अतिरिक्त समयमा हरायो ।

ललितपुरलाई जिताउन ९९ औं मिनेटमा कुशल देउवाले निर्णायक गोल गरेका थिए । ओमालाजा करिमले हानेको फ्रिकिकमा कप्तान अनन्त तामाङले बक्सका हेड गरेका थिए ।

त्यो बल पोखराका खेलाडीले भेटे पनि क्लियर गर्न सकेनन् । जसलाई ६ यार्ड बक्स भित्रै कुशलले भेट्टाए र बललाई जाली चुमाए । निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा थकेलिएको थियो ।

खेलमा पहिलो अग्रता पनि ललितपुरले नै लिएको थियो । ४५ औं मिनेटमा इमोह इजेकेलले गोल गर्दै ललितपुरलाई अग्रता दिलाएका थिए ।

पापा इबोउ केबेले आफ्नै क्षेत्रबाट काउन्टर अट्याकमा लामो पास इमोहका लागि निकालेका थिए । इमोहले कन्ट्रोल गर्दै बक्ससम्म पुर्याएर हानेको बल गोल भएको थियो ।

७१औं मिनेटमा पोखराले बराबरी गोल फर्काएको थियो । जोए आइडुको पासमा स्टेफेन पापा कोजो एनोरले बक्समा हेडमार्फत गोल गरेका थिए । एनोरको हेड मैदानमा ड्रप भएर सेकेण्ड बारमा लाग्दै गोल भएको थियो ।

बिजेता ललितपुरले फाइनलमा शनिबार धनगढी एफसीसँग खेल्ने छ । धनगढी एफसी पहिलो क्वालिफायरमा पोखरालाई टाइब्रेकरमा हराउँदै फाइनलमा पुगेको हो । लिग चरणमा शीर्ष स्थानमा रहेको पोखराले फाइनल पुग्न दोस्रो असवर पाएको भए पनि त्यसलाई सदुपयोग गर्न सकेन । लिग विजेताले ७० लाख र उपविजेता टोलीले २० लाख रुपैयाँ पुरस्कार पाउने छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस