कालिका बहुमुखीलाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्छ : प्रा.डा. अधिकारी

  • पोखरा न्यूज
  • २०८० पौष १३
कालिका बहुमुखीलाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्छ : प्रा.डा. अधिकारी

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ काजीपोखरीमा रहेको कालिका बहुमुखी क्याम्पस ३३औं बर्षमा प्रवेश गरेको छ । यस अवसरमा क्याम्पसले बार्षिकोत्सव कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रम उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले कालिका बहुमुखी क्याम्पसलाई पोखराकै नमुना क्याम्पस बनाउनुपर्नेमा जोड दिए ।

सो अवसरमा अधिकारीले भने, ‘अब विद्यार्थीको मूल्याङ्कन गर्न म कपि काट्छु, परीक्षामा नम्बर दिन्छु । मैले पढाएको वास्तवका बुझेका छन कि छैनन ? कसले कम्प्लेन गर्छ ? भन्दै शिक्षामा गुणस्तर बढाउन राज्यले यस्तो सिस्टम बनाउनुपर्छ ।’

देशभरका क्याम्पसमा विद्यार्थी घट्दै जानुमा विश्वविद्यालय स-सानो बिषयमा चुकेको बताउँदै उनले समयमै भर्ना, परीक्षा र नतिजा प्रकाशन मात्रै भएमा शिक्षा क्षेत्र सुधार हुने दावी गरे । उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा क्याम्पसले जोड दिनुपर्ने खाँचो औंल्याए ।

बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमुख विरञ्जी गौतमले कालिका बहुमुखी क्याम्पसले प्रमाणपत्र प्राप्त गरि क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन सफल भएको बताए । उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरि दक्ष जनशक्ति उत्पादन गर्न क्याम्पस लागिपरेको बताए ।

विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेका सबै मापदण्डहरु पुरा गरि स्वअध्ययन प्रतिवेदनले स्थलगत निरीक्षणका कम्रमा दिएका सुझावहरुको अन्तिम रिस्पोन्स रिपोर्ट विश्वविद्यालय अनुदान आयोगमा बुझाइएको उनले स्पष्ट पारे ।

कार्यक्रममा क्याम्पसका प्रध्यापक वीरबहादुर बुढाथोकी, क्याम्पसका संरक्षक डा. कृष्ण केसी, पूर्व क्याम्पस प्रमुख बालकृष्ण शर्मा, निवर्तमान क्याम्पस प्रमुख तथा प्राध्यापक संघका सभापति रवीन्द्रनाथ बास्तोला, पब्लिक क्याम्पस संघ गण्डकीका संयोजक ऋषिराम बुढाथोकी, सिनेटर ऋषि काफ्ले, विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष सपना श्रेष्ठ लगायतले बोलेका थिए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम र नृत्य प्रस्तुत गरेका थिए ।

सो अवसरमा क्याम्पसले आयोजना गरेको अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । क्याम्पसले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति समेत प्रदान गरेको थियो ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस