प्रहरीको काम नै जनताको सुरक्षा र समाजमा शान्ति कायम गराउनु हो : डिआइजी गुरुङ

पोखरा । गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले समाजमा शान्ति सुरक्षा अमनचयन गराउन प्रहरी तत्पर रहेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा माटेपानीको १९ औं वार्षिक साधारणसभा एवं आठौँ अधिवेशन उद्घाटन गर्दै डिआइजी गुरुङले यस्तो बताएका हुन् ।

उनले जहाँ समस्या छ त्यहाँ जति पनि सुरक्षाकर्मी उपलव्ध गराउन सकिने र समस्या समाधान नभएसम्म नै तैनाथ भइरहने उल्लेख गरे ।
उनले भने, ‘समस्या सबै ठाउँमा हुँदैन, समस्या भएका ठाउँका लागि नभएका ठाउँबाट सुरक्षाकर्मी निकालेर समस्या समाधानका लागि परिचालन गरिन्छ ।’

प्रहरीको काम नै जनताको सुरक्षा र समाजमा शान्ति कायम गराउनु भएको भन्दै प्रहरीको यो कार्यमा नागरिकको साथ अपरिहार्य भएको उल्लेख गरे ।जनताको समस्या समाधानमा प्रहरी चौबिसै घण्टा खटिने उनले स्पष्ट पारे ।

समाजका भएका विकृति, विसंगति न्युनिकरणमा सामुदायिक सेवा केन्द्रले खेलेको भूमिका निकै नै प्रशंसनीय रहेको भन्दै उनले प्रशंसा गरे । नेपालमा २०३९ सालदेखि नै सामुदायिक सेवा केन्द्र सुरुआत भएको उनले जानकारी दिए ।

सामुदायिक सेवा केन्द्रले स्थानीय, प्रदेश र संघीय सरकार, विभिन्न संघसंस्थाका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि सहकार्य काम गर्न सक्ने डिआइजी गुरुङले स्पष्ट पारे । उनले स्थानीय स्तरमा भएका समस्याका समाधान स्थानीय स्तरमै गर्नुपर्नेमा जोड दिए ।

सामुदायिक सेवा केन्द्र समन्वय समिति कास्कीका अध्यक्ष भीम पराजुलीले माटेपानी सामुदायिक सेवा केन्द्रले निःस्वार्थ ढंगले निकै नै उत्कृष्ट काम गरेको भन्दै प्रशंसा गरे ।

वडाध्यक्षत्रय बोधबहादुर कार्की, सन्तोष बास्तोला र प्रेमप्रसाद कर्माचार्यले समाजमा रहेका विकृति, विसंगति न्युनिकरण गर्न सामुदायिक सेवा केन्द्रले गर्ने सबै काममा साथ रहने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा संस्थाकी पूर्व अध्यक्ष तथा सल्लाहकार दया बराल, निवर्तमान अध्यक्ष बलबहादुर कार्की र लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष कृष्ण अधिकारीले सामुदायिक सेवा केन्द्रले गर्ने सबै काम उत्कृष्ट रहँदै आएको बताए ।

संस्थाकी अध्यक्ष मीरादेवी आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष ईन्दिरा पन्तले स्वागत, सचिव नेत्रबहादुर तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा संस्थाका लागि उत्कृष्ट सहयोग र योगदान दिएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

वि.सं. २०६० सालमा स्थापन र २०६२ सालमा समाज कल्याण परिषदमा दर्ता भएको संस्थाको कार्यक्षेत्र पोखरा महानगरपालिका वडा नं. ११, १२, १३ र १४ रहेको छ । संस्थामा हाल २ सय ५४ जना आजीवन सदस्य छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button