दुर्गमको विकासका लागि सङ्घीय व्यवस्था वरदान हो : मन्त्री जुग्जाली

म्याग्दी । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले विकट र दुर्गम क्षेत्रको विकासमा पहुँच बढाउन सङ्घीय व्यवस्था वरदान साबित भएको बताएका छन् ।

म्याग्दीको मङ्गला गाउँपालिका-५ अर्मनको कैलाशफाँटमा आजदेखि सुरु भएको पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रममा मन्त्री जुग्जालीले प्रदेश सरकार र स्थानीय तह स्थापना भएपछि पछाडि परेको ठाउँमा विकासका पूर्वाधार निर्माणले गति लिएको बताए ।

“सङ्घीयता र गणतन्त्रको विषयमा टिप्पणी गर्ने युवा पुस्तालाई राजा र पञ्चायतको समयमा कस्तो थियो भनेर बुबा-आमा, हजुरबुबा-हजुरआमालाई सोध्नुहुन अनुरोध छ,” उनले भने, “काठमाडौँ, पोखरामा बसेर होइन म्याग्दीको दुर्गम गुर्जाको आँखाले हेर्दा सङ्घीयता वरदान हो ।”

गण्डकी प्रदेश सरकारले छ वर्षको अवधिमा एक हजार तीन सय किलोमिटर सडक स्तरोन्नति र ८१ वटा मोटरेबल पुल निर्माण गरेको उनले जानकारी दिए ।

हाल पाँचजना जनप्रतिनिधि रहेको तत्कालीन एउटा गाविसका नौवटा वडामा ४७ जना जनप्रतिनिधि भएको बिर्सिएर सङ्घीयताको विरोध र महँगो भयो भन्ने टिप्पणी गर्नु गलत भएको मन्त्री जुग्जालीको भनाइ थियो ।

“यो व्यवस्थामा जनताले आफूलाई मन परेको व्यक्तिलाई जनप्रतिनिधिका रुपमा चुन्ने अधिकार छ । मन नपरे विरोध गर्न, बोल्न यही व्यवस्थाले दिएको छ,” उनले भने, “हिजो प्रधानपञ्चले जे बोल्यो त्यो कानुन हुन्थ्यो । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा शिर निहुराउँदै गएको बिर्सनु भएन ।”

मन्त्री जुग्जालीले पञ्चायत र राजाका पालामा हालिमुहाली गरेकाहरुले अहिलेको व्यवस्थाको विरुद्धमा भ्रम फैलाएको टिप्पणी गर्दै जनताको अवस्था सुधार गर्न कार्यशैली सुधार र परिवर्तन गर्नुपर्ने बताए ।

म्याग्दीको पूर्वाधारलगायत समग्र विकासका लागि भित्रिएका योजना र कार्यक्रम समयमै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने वातावरण बनाउन जनप्रतिनिधि, सरोकारवाला र समुदायलाई आग्रह गरे ।

मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र वडा नं ५ का अध्यक्ष भूपेन्द्र खत्रीले प्रतियोगिता सञ्चालन भएको कैलाशफाँट खेलमैदानको स्तरोन्नति र म्याग्दी नदीको कटान नियन्त्रणका लागि मन्त्री जुग्जालीको ध्यानाकर्षण गराए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १० वटा माविले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले रु ५० हजार, रनिङ शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ३० हजार र रु २० हजार पुरस्कारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाका सूचना अधिकारी राजेन्द्र आचार्यले जानकारी दिए। छात्र र छात्रा भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गराइने उनले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button