आज राष्ट्रिय नेपाली टोपी दिवस : दिवस मनाउन प्रतिष्ठानको आग्रह

  • पोखरा न्यूज
  • २०८० पौष १६
आज राष्ट्रिय नेपाली टोपी दिवस : दिवस मनाउन प्रतिष्ठानको आग्रह

पोखरा । आज अङ्ग्रेजी नयाँ वर्ष २०२४ को पहिलो दिन ‘राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदै छ । नेपाली टोपीको प्रवर्द्धन गर्नुका साथै मेरो शान, मेरो पहिचान राष्ट्रिय पोशाक संरक्षण अभियान भन्ने नारासहित सातौँ दिवस मनाउन लागिएको हो ।

मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा २०७० सालदेखि हरेक वर्षको जनवरी १ लाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोशाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए ।

नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रूपमा लिने गरिन्छ । तर नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् ।

यो दिन नेपाल र नेपाल बाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धूमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । यो लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ ।

यसैबीच नेपाली टोपी प्रतिष्ठान गण्डकीले जनवरी १ अर्थात पुस १६ गते ‘एघारौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाउन अनुरोध गरेको छ ।

संस्थाले एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वभर छरिएर बसेका सम्पूर्ण नेपाली तथा नेपालीमूलका सबै नागरिकलाई यहि पुस १६ गते (जनवरी १ तारिख, २०२४) का दिन आफ्नो अवस्था अनुकुल नेपाली टोपी पहिरेर नेपाली टोपीलाई व्यापकरुपमा स्थापित गराउन सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिष्ठान गण्डकीका अध्यक्ष महेश्वर सिंह भण्डारीका अनुसार स्वस्फुर्तरुपमा नेपाली युवाहरुले विगत १० वर्षदेखि अंग्रेजी महिनाको जनवरी १ तारिखको अवसर पारेर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आइरहेका छन् ।

नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरुको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको छ ।

नेवार भाषामा कांँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ । म्हपूजा र भाइटीका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ, जसलाई खस भाषामा ढाका टोपी भन्ने गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन । आयातित हो, बंगलादेशको राजधानी ढाकाबाट ल्याइएको कपडा वा प्रविधिबाट उत्पादित कपडाबाट बनेको हो भनेर गलत प्रचार गरिएको छ ।’



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस