पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफाले शिक्षा क्षेत्रमा रु. २५ करोड भन्दा बढी लगानी गरेको छ । गुफा अवलोकन गर्न आउने पर्यटकबाट सङ्कलित रकमबाट रु. २५ करोड भन्दा बढी शिक्षा क्षेत्रमा लगानी भएको हो ।
गुफाको आम्दानीले गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र वेद विज्ञान पाठशाला सञ्चालन हुँदै आएको छ । क्याम्पसमा विभिन्न विषयमा ९ सय २९ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ७३ प्रतिशत छात्रा छन् ।
आगामी आर्थिक वर्षमा पनि क्याम्पस सञ्चालनका लागि रु ७० लाख र वेद विज्ञान गुरुकुल सञ्चालनका लागि रु ३० लाख विनियोजन गरिएको गुफा व्यवस्थापन समितिका वरिष्ठ उपाध्यक्ष युवराज लामिछाने (युवक)ले जानकारी दिए ।
उनका अनुसार गुरुकुलमा १ सय विद्यार्थी अध्ययनरत छन् । गुफाले पोखरा-१७ र आसपासका वडाका सामुदायिक विद्यालयमासमेत अक्षयकोष स्थापनाका लागि रु. ५ लाख छुट्याएको छ ।
गुफाले नै खरिद गरेको ६ रोपनी जग्गामा २४ कक्षाकोठा, होटल व्यवस्थापन प्रयोगात्मक कक्ष (हल) ५, आइटी ल्याब २, पुस्तकालय १, सभाहल २, कार्यालय कक्ष ११, शौचालय १६ रहेका छन् । उनका अनुसार उक्त भवन ३ तल्लाको छ । केही आम्दानीबाट गुफाको संरक्षण एवम् सौदर्यकरणमा खर्च भएको उनले बताए ।
गुफा व्यवस्थापन समितिका सचिव हरिप्रसाद लम्सालका अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाली पर्यटक २ लाख ९३ हजार २ सय ४९, विदेशी २ लाख ७९ हजार ५ सय ५० र नेपाली विद्यार्थी १ लाख २५ हजार १ सय ८६ ले गुफाको अवलोकन गरेका थिए । ती व्यक्तिबाट रु. ४ करोड २८ लाख ५८ हजार ४ सय ८० आम्दानी भएको थियो ।
यस्तै, गुफाले कामधेनु गाईबाट रु ४ लाख ६२ हजार ८ सय ६०, दान पात्रबाट रु २७ लाख ४६ हजार ९, सहयोग रसिदबाट रु ५१ लाख २७ हजार ७ सय ५१, सटर कबलबाट रु ८ लाख ६८ हजार ९५ आम्दानी गरेको थियो ।
चालु आवको मङ्सिर मसान्तसम्म ७२ हजार नेपाली, ७६ हजार ९३ विदेशी पर्यटकसहित कुल १ लाख ६८ हजार ७ सय ४० जनाले टिकट काटेर अवलोकन गरेका छन् ।
गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायणप्रसाद पौडेलका अनुसार गुफा अवलोकनका लागि आधुनिक बारकोड स्क्यानर गेटसमेत राखिएको छ ।
उनका अनुसार टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण सङ्कलन गर्न सहज भएको छ । सुरक्षाका दृष्टिकोणले पनि यो प्रविधि प्रभावकारी देखिएको उनले बताए ।
गुफा अवलोकनमा क्रमिक रुपमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गएका जनाउँदै विशेष गरी बिदाका दिनमा बढी भिड लाग्ने गरेको बताए । उनका अनुसार प्रवेशका लागि विदेशी रु एक सय, नेपालीलाई रु ५० र विद्यार्थीलाई रु ३५ को टिकट व्यवस्था गरिएको छ ।
ऐतिहासिक, पुरातात्तिवक एवम् धार्मिक महत्व बोकेको गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution