काठमाडौँ-पोखरा पर्यटक बस सेवा

काठमाडौँ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को सुरुआतसँगै काठमाडौँ-पोखरा र काठमाडौँ-सुनौली पर्यटक बससेवा सुरु भएको छ ।

नेपालको आन्तरिक तथा बाह्य पर्यटकलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न चार कम्पनीले सोफासहितको ६ नयाँ बस सञ्चालनमा ल्याई यात्रुलाई सेवा प्रदान गरेका हुन् ।

बाबा एडभेन्चर टुर्स एन्ड ट्राभल्स, रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभल्स, यती एडभेन्चर टुर्स एन्ड ट्राभल्स, ब्ल्यू लाइन ट्राभल एन्ड टुर्सले काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि सुनौली जाने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी बस सञ्चालनमा ल्याएका हुन् ।

यती एडभेन्चर टुर्स एन्ड ट्राभल्सका सञ्चालक कृष्ण आचार्यले अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी काठमाडौँदेखि पोखरा र सुनौली आठवटा पर्यटक बसले सेवा प्रदान गरेको बताए ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष रहेका आचार्यले नेपालको पर्यटक बसमा पछिल्लो समय ठूलो लगानी भए पनि बाटो बिग्रिएका कारण समस्या भएको उल्लेख गरे ।

रेम्बो एडभेन्चर टुर्स एन्ड ट्राभलको सञ्चालक शिशिर खनाल पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्नका लागि सोफासहितको नयाँ बस सञ्चालनमा ल्याइएको बताए ।

उनले आफ्नो कम्पनीले रु दुई करोड ५० लाखमा दुईवटा बस खरिद गरी पर्यटकलाई सेवा प्रदान गरेको उल्लेख गरे । रेम्बो, ब्ल्यू र यतीले भित्र्याएका बसहरुले काठमाडौँ-पोखरा पर्यटकलाई सेवा प्रदान गर्नेछन् ।

यसअघि काठमाडौँदेखि पोखरा र काठमाडौँदेखि चितवन पर्यटक बसमार्फत आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी सेवा प्रदान गर्दै आइरहेको बाबा एडभेन्चरले सुनौलीका यात्रुलाई लक्षित गरी काठमाडौँ सुनौली बससेवा सञ्चालन गरेको छ ।

बाबा एडभेन्चरका सञ्चालक एवं टुरिष्ट बस एसासिएसनका पूर्वअध्यक्ष प्रल्हाद लोहनीले भारतीय पर्यटकलाई लक्षित गरी नयाँ वर्षदेखि बाबा एडभेन्चरले दुईवटा बस सञ्चालन गरेको जानकारी दिए ।

नेपालमा पर्यटक बसमा ठूलो लगानी भए पनि पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा व्यवसायीलाई समस्या परेको छ ।

हाल काठमाडौँ महानगरपालिका-१६ स्थित सोह्रखुट्टे सडकबाट पर्यटक बस देशका विभिन्न भागमा ओहोर-दोहोर गर्दै आएका छन् ।

टुरिष्ट बस एसोसिएसन अफ नेपालका महासचिव मिलन नेपालले पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या परेको बताए ।

हाल काठमाडौँ सोह्रखुट्टे सडक हुँदै दैनिक एक सयभन्दा बढी पर्यटक बस देशका विभिन्न भागमा ओहोरदोहोर गर्दै आएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button