भारतीय विदेशमन्त्री जयशंकर र राष्ट्रपति बीच भेटवार्ता

काठमाडौँ । भारतीय विदेश मन्त्री डा. एस जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।

दुई दिने भ्रमणका लागि बिहान नेपाल आएका जयशंकरले भेटघाटको सुरुआत राष्ट्रपति पौडेलसँगबाटै गरेका हुन् ।

उनी आफ्नो टिमसहित राष्ट्रपति भवन शितलनिवास पुगेर राष्ट्रपति पौडेललाई भेटेका हुन् । सो क्रममा परराष्ट्र मन्त्रालयको टोली पनि रहेको थियो ।

नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका जयशंकरसँग राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टिभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युतको विकासमा सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले हिमाल र पानीको स्रोत बचाउने विषय साझा एजेण्डा भएकाले यसमा मिलेर गम्भीरतापूर्वक काम गर्न जरुरी रहेकोमा जोड दिएका थिए ।

उनले कृषि, उर्जा शक्ति, पर्यटनको विकास र मानव संशाधन विकास नेपालका प्राथमिकतामा भएको र यसमा सहकार्यका लागि आग्रह गरेका थिए ।

सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका सम्भावनाप्रति भारत जानकार रहेको बताउँदै सबै क्षेत्रहरूमा भारतको निरन्तर सहयोग रहने उल्लेख गरेका छन् ।

यसअघि उनलाई बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपीपी साउदले स्वागत गरेका थिए । सो क्रममा परराष्ट्र सचिव सेवा लम्साल पनि साथमा रहेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button