लमजुङको मर्स्याङ्दी बहुमुखी क्याम्पस प्रमुख थापा बर्खास्त

बेसीशहर । लमजुङस्थित मर्स्याङ्दी बहुमुखी क्याम्पसका प्रमुख हरिबाबु थापा पदबाट बर्खास्त भएका छन् ।

सहकारी ठगी आरोपमा पक्राउ गरेर मुद्धा अघि बढेसँगै थापालाई क्याम्पस प्रमुखबाट हटाइएको हो ।

मर्स्याङ्दी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सामुदायिक क्याम्पस हो ।

त्रिवि नियमावली र क्याम्पसको विधानअनुसार फौजदारी अभियोग लागेका व्यक्तिलाई क्याम्पस प्रमुख राख्न नसकिने प्रावधान छ ।

सोही प्रावधान अनुसार थापालाई प्रमुखबाट हटाइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारीले जानकारी दिए । थापा लामो समयदेखि क्याम्पस प्रमुख रहेका थिए ।

बेसीशहरस्थित कालिका बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा थापामाथि मुद्धा चलिरहेको छ ।

उनीविरुद्ध सहकारी ऐन ०७४ अन्तर्गत कसुर र ठगी मुद्धा अभियोग चलिरहेको छ ।

गत मंसिर १८ गते जिल्ला प्रहरी कार्यालयमा थुनुवा पुर्जी बुझी उनी प्रहरी हिरासतमा थिए ।

लमजुङ जिल्ला अदालतबाट मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ६८ र ७२ लाई समेत दृष्टिगत गरि पुस ५ गते सात लाख धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन् ।

त्रिवि नियमावली र क्याम्पसको विधान ०४७ को परिच्छेद ६ को दफा ६.२ (ङ) अनुसार फौजदारी अभियोग लागेको व्यक्ति क्याम्पस प्रमुख पदमा सञ्चालक समितिले स्वीकार गर्न नसक्ने उल्लेख छ ।

अदालतबाट मुद्धाको अन्तिम किनारा नलागेसम्म क्याम्पस प्रमुख पदबाट थापालाई बर्खास्त गरिएको अध्यक्ष अधिकारीले बताए ।

थापालाई बर्खास्तसँगै क्याम्पस प्रमुखमा सहप्राध्यापक शालिकराम अधिकारीलाई नियुक्त गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button