म्याग्दीका आयोजनामा भएको ढिलाइप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण

म्याग्दी । म्याग्दीका जनप्रतिनिधिको टोलीले सङ्घीय सरकारमार्फत जिल्लामा सञ्चालित आयोजना निर्माणमा भएको ढिलासुस्तीका विषयमा आज प्रधानमन्त्री र विभागीय मन्त्रीलाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतलाई भेटेर म्याग्दीका विकास निर्माण र विविध विषयमा ध्यानाकर्षण गराएको भेटघाटमा सहभागी गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीले जानकारी दिए ।

टोलीमा म्याग्दी प्रदेशसभा (२) बाट निर्वाचित गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली, संविधानसभा सदस्य गोविन्द पौडेल, प्रदेश सांसद भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछाने सहभागी थिए ।

“सिंहदरबारमा प्रधानमन्त्रीसँग भएको भेटघाटमा म्याग्दीका विकास आयोजना कार्यान्वयनको अवस्था र थप आयोजना, नीति निर्माण र राजनीतिक विषयमा छलफल भयो”, सांसद भण्डारीले भने, “बेनी अस्पतालको भवन, मालढुङ्गा-बेनी, बेनी-जोमसोम सडक, बृहत् पिप्ले-भगवती, घोप्टेखोला खानेपानीलगायत सङ्घीय सरकारमार्फत सञ्चालित योजनामा भएको ढिलाइका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छौँ ।”

प्रधानमन्त्रीले विभागीय मन्त्री र सचिवसँग छलफल गरेर गुनासोको सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।

ऊर्जामन्त्री बस्नेतलाई बेनीबजार संरक्षण आयोजनामा थप बजेटको व्यवस्था गर्न, तातोपानी, बगरफाँट, बाबियाचौर, दरवाङलगायत तटीय बस्तीमा नदी नियन्त्रण र सिँचाइ आयोजनाका विषयमा ध्यानाकर्षण गराइएको सांसद भण्डारीले बताए ।

टोलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठलगायत विभिन्न विभागीय मन्त्री र अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button