होटल प्रतिनिधि समाजले अन्तर्राष्ट्रिय क्षेत्रमा सकारात्मक सन्देश दिन सक्छ : वडाध्यक्ष भट्टराई

पोखरा । होटल प्रतिनिधि समाज पोखराको आम भेला शनिबार पोखरामा सम्पन्न भएको छ । भेला उद्घाटन गर्दै पोखरा महागरपालिका वडा नं. ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पोखरामा आउने पर्यटकको सुरक्षा र सहजता प्रदान गर्न प्रतिनिधि समाजले खेलेको भूमिका निकै नै सह्रानीय भएको बताए । समाजको यस किसिमको आतिथ्यताले अन्तर्राष्ट्रिय क्षेत्रमा पोखराको सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

वडाध्यक्ष भट्टराईले यस क्षेत्रमा पनि बेलाबेला केही नकारात्मक हल्लाहरु आउने गरेको आफूले सुन्ने गरेको भन्दै यस्ता समस्या समाधानका लागि सबैको सहयोग आवश्यक हुने खाँचो औंल्याए ।

उनले भने, ‘यो निकै संवेदनशिल क्षेत्र हो । यहाँ अलिकति पनि नकारात्मक गतिविधि भयो भने त्यसको असर दीर्घकालिनरुपमा अन्तर्राष्ट्रिय स्तर मै पर्छ । त्यसैले यस्ता गतिविधि हुन नदिन सबै गम्भीर बन्नुपर्छ ।’

यस क्षेत्रमा आइपर्ने समस्या समाधान र समाजका लागि आवश्यक सहयोग गर्न आफू तयार रहेको उनले प्रतिवद्धता जनाए ।

अर्को प्रसंगमा वडाध्यक्ष भट्टराईले समाज पर्यटनसँग सम्बन्धित पुरानो संस्था भएर पनि पर्यटन परिषद्मा दर्ता नभएकोप्रति चासो राखेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ विगतमा आफूपनि समाजमा आवद्ध भएको भन्दै अहिले संस्थाको प्रगतिप्रति आफू निकै उत्साहित भएको बताए ।

समाजलाई परिषद्मा समेट्नका लागि आफू सकारात्मक भएको भन्दै वैधानिक र कानूनी रुपमा के-के गर्न सकिन्छ त्यस विषयमा छलफल र निर्णय हुने उनले स्पष्ट पारे । समाजलाई पनि सँगसँगै अघि बढाउन र एकअर्कामा सहकार्य गरि अघि बढ्न कुनै समस्या नहुने अध्यक्ष श्रेष्ठले बताए ।

पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष एवं समाजका पूर्वअध्यक्ष लक्ष्मण सुवेदी समाजका कारणले नै पोखरा आउने पर्यटकले सुरक्षित महसुस गर्न पाएको बताए ।

उनले समाजको यस्तो पवित्र काममा भाँजो हाल्ने प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिविरुद्ध सशक्त प्रतिकार गर्न आवश्यक रहेको स्पष्ट पारे ।

उनले भने, ‘समाजसँग म हिजो पनि सँगै थिएँ, आज पनि छु, भोलि पनि सँगै रहन्छु । यो नै मेरो सुरुवाती घर हो । म जहाँ पुगेपनि त्यसको देन यहि समाजको हो, म कदापि भुल्न सक्दिन ।’

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी र टान गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले प्रतिनिधि समाज पोखराको पुरानो पर्यटकसँग सम्बन्धित संस्था भएको भन्दै यसले गर्ने प्रत्येक काम निकै संवेदनशील हुने बताए ।

उनीहरुले भने, ‘अझ यस समाजका प्रतिनिधिले पर्यटकलाई दिने सेवा अझै धेरै सम्वेदनशील हुन्छ । त्यसैले यसतर्फ ध्यान दिन आवश्यक छ ।’
एउटा व्यक्तिले नराम्रा गतिविधि गरिदिँदा समग्र पर्यटन क्षेत्रमा प्रत्यक्ष असर पर्ने भएकाले समाजका प्रतिनिधिले इमान्दारितापूर्वक काम गर्नुपर्नेमा उनीहरुको जोड छ ।

समाजका पूर्वअध्यक्ष तिलक बहादुर क्षेत्री अधिकारीले समाज स्थापना भएको २५औं वर्षमा प्रवेश गरेको भन्दै खुसी र शुभकामना प्रकट गरे । समाजले छिट्टै आफ्नो स्थापनाको रजतजयन्ती मनाउने भन्दै उनले आगामी दिनमा पोखराका सबै पर्यटनसँग सम्बन्धित संस्थासँग समन्वय गरी नयाँ सोचका साथ सशक्त ढंगले अघि बढ्न आवश्यक रहेको स्पष्ट पारे ।

समाजका उपाध्यक्ष जीवराज उपाध्यायले पोखरा भित्रिने पर्यटकको जीउ धनको सुरक्षामा आफूहरुले पूर्णरुपमा ध्यान पुर्याएको बताए ।

उनले आफूहरुले इमान्दारितापूर्वक काम गर्दागर्दै पनि केही तत्वले नकारात्मक गतिविधि गरिदिँदा समग्र दोष आफूहरुमाथि लाग्ने गरेको भन्दै दुःख व्यक्त गरे । यस क्षेत्रमा हुने विकृति विसंगति अन्त्यका लागि सबैको सहयोग आवश्यक रहेको उनले बताए ।

कार्यक्रम संयोजक एवं समाजका कोषाध्यक्ष पुरुषोत्तम न्यौपानेले समाजले पर्यटन क्षेत्रमा निकै महत्वपूर्ण काम गर्दै आएको भन्दै यसमा सबैले सहकार्य गर्न आवश्यक रहेको बताए ।

अध्यक्षको आशनबाट बोल्दै समाजका अध्यक्ष सन्तु चौधरीले अब छिट्टै २५ औं साधारणसभा तथा १३औं अधिवेशन हुने जानकारी दिए । त्यस अवसरमा संस्थाको रजतजयन्ति मनाइने उनले स्पष्ट पारे ।

समाजका महासचिव माधव लम्सालले समाजले विगतमा गरेका गतिविधिबारे जानकारी गराउँदै भावी रणनीतिबारे प्रकाश पारेका थिए ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button