
पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धन र सेती नदी संरक्षण गर्ने लक्ष्यसहित पोखराको युनाइटेड क्लवद्वारा आयोजित १२औं पोखरा महोत्सव भोलिदेखि सुरु हुँदैछ ।
माघ ८ गतेससम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पूरा भएको क्लवले जनाएको छ । महोत्सव अमरसिंह खेल मैदानमा सञ्चालन हुनेछ । अघिल्ला वर्षका महोत्सवमा फरकपन दिँदै आएको क्लवले यसपटक याकलाई प्रदर्शनीमा राखिने मूल आयोजक समितिका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।
यसपटक २ सय ३० स्टल रहने महोत्सवमा २ लाख ५० हजार दर्शक सहभागी हुने अध्यक्ष श्रेष्ठको अनुमान छ ।
महोत्सवबाट भएको आम्दानीबाट आवासीय छात्रावास निर्माण र सेती नदीमा पर्यटकीय गन्तव्य निर्माण गर्ने क्लवको योजना छ ।
महोत्सवमा विभिन्न जातिजातिका कला संस्कृति प्रदर्शनी, औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकला सामानको प्रदर्शनी एवं बिक्री, सूचना प्रविधिको प्रदर्शनी एवं जानकारी, ब्यवसायिक संघसंस्थाहरुको सेवा बारे जानकारी, स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपभोग्य बस्तुहरुको प्रदर्शनी तथा उचित मूल्यमा बिक्री वितरण गरिने आयोजकले जनाएको छ ।
यसैगरी नेपाली संस्कृति झल्कने नृत्य प्रस्तुतिसंगै कृषिका गतिविधिहरु पनि महोत्सवमा सञ्चालन हुनेछन् ।
महोत्सवको आकर्षणमा लोकदोहोरीतर्फ बद्री पंगेनी, प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, प्रीति आले, ज्योती मगर, प्रकाश दुतराज, शान्तिश्री परियार, श्याम राना, समीक्षा अधिकारी, एलिना चौहान, रचना रिमाल, राजु परियार लगायत स्थानीय कलाकारको प्रस्तुति रहने क्लवका वरिष्ठ उपाध्यक्ष तथा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिति संयोजक लोकबहादुर थापा जानकारी दिए ।
यसैगरी कन्सर्टतर्फ मन्त्र, लाहुरे, सविन राई एण्ड द फेरोह, भिटेन, मेलिना राई, सुगम पोखरेल, जीबब, माइला, श्री ३, रक हेड्ससंगै लोकल ब्याण्डहरुको प्रस्तुति रहनेछ भने हांस्यव्यङ्ग्य प्रस्तुति, नेपाली संस्कृति झल्कने प्रस्तुति, बाल उद्यान, विद्यालय स्तरीय लोक नृत्य प्रतियोगिता, झांँकी प्रदर्शनी लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि महोत्सवमा हुने क्लवका महासचिव तथा महोत्सवका प्रचारप्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।





