पोखरा-मुक्तिनाथ केबलकारको डीपीआर लगानी बोर्डमा

पोखरा । नेपालकै लामो पोखरा-मुक्तिनाथ केबलकार निर्माणको प्रक्रिया अघि बढेको छ । जसका लागि निर्माण कम्पनी मुक्तिनाथ दर्शन प्रालिले अध्यावधिक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगानी बोर्डमा बुझाइएको छ ।

सुरुमा कास्कीको बिरेठाँटीमा तल्लो स्टेसनको प्रस्ताव गरेको आयोजनाले अब कास्कीकै नयाँपुलमा तल्लो स्टेसन रहने गरी प्रस्ताव गरिएको बताइन्छ ।

प्रस्तावित केबलकारको लम्बाइ ८१.०१४ किलोमिटर रहेको छ । अध्यावधिक डीपीआर बोर्डले अध्ययन गरी कम्पनीसँग परियोजना कार्यान्वयन सम्झौता (पीआईए) गर्नुपर्छ ।

यो निजी लगानीमा बन्ने आयोजना हो । बोर्डले अध्यावधिक डीपीआर अध्ययन गरी पीआइए सम्झौता गर्छ । त्यसपछि मात्रै आयोजना कार्यान्वयनको बाटो खुल्नेछ ।

साथमा आयोजनाले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए)को काम भने सक्नु पर्छ । आयोजनाले गर्ने ईआईएलाई वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेमात्र आयोजनाको काम अगाडि बढ्छ । सोहीकारण यो आयोजना कार्यान्वयनमा जान अब ईआईए प्रतिवेदन समेत मन्त्रालयबाट पारित हुनुपर्छ ।

कास्कीको नयाँपुलबाट घोरेपानी-तातोपानी-जोमसोम-कागबेनी हुँदै मुक्तिनाथसम्म केवलकार जडान गर्ने योजना छ ।

आयोजनाको कुल लागत ५५ अर्ब १८ करोड रुपैयाँ अनुमान गरिएको छ । यो केवलकारको विभिन्न स्थानमा स्टेसन जडान गरी झर्ने र चढ्ने व्यवस्था गर्ने योजना छ ।

यो आयोजनाको सर्वेक्षणलगायतका काममा मात्रै हालसम्म ४० करोड रुपैयाँ खर्च भइसकेको मुक्तिनाथ दर्शन प्रालिको दावी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button