
पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ मा ज्येष्ठ नागरिकहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । सहरी स्वास्थ्य केन्द्र पोखरा -५ को आयोजना र वडा कार्यालयको सहयोगमा कार्यक्रम गरिएको हो ।
तीन दिनमा वडाभित्रका ज्येष्ठ नागरिक मिलन केन्द्र प्रस्याङ्ग, गोलचौतारी र मनकामनामा शिविर आयोजना गरी करिब २ सय ८१ सय जनाको स्वास्थ्य परीक्षण गरिएको हो ।
जसमा प्रस्याङमा ६९, गोलचौचारीमा ६२ र मनकामनामा १ सय ५० जना ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको सहरी स्वास्थ्य केन्द्र पोखरा-५ का कर्मचारी शान्ति पौडेलले जानकारी दिइन् ।
ज्येष्ठ नागरिकको विशेषगरि मधुमेह र उच्च रक्तचाप परीक्षण एवं आवश्यक परामर्श प्रदान गरिएको थियो । सो अवसरमा ज्येष्ठ नागरिकले स्वास्थ्यको हेरचाह र खानपानमा ध्यान दिनुपर्ने विषयमासमेत जानकारी गराइएको थियो ।
साथै सर्ने रोगले भन्दा बढी नसर्ने रोगले बढी दुःख दिने भएकाले यसबाट बच्न आवश्यक रहेको बताइएको थियो ।
कार्यक्रमबाट खुसी हुँदै मनकामना ज्येष्ठ नागरिक मिलन केन्द्रका संयोजक ८९ वर्षीय होमनाथ बरालले यस्तो शिविर महिनैपिच्छे गरिदिन आग्रह गरे ।
आफूहरुले ध्यान, योग र साधना गर्नुका साथै खानपानमा पनि निकै विचार पुर्याएकाले केन्द्रमा आवद्ध भएकाहरुमध्ये धेरैमा सुगर र ब्लडप्रेसर नभएको बताए । आफ्नो शरीरलाई स्वस्थ राख्नका लागि ध्यान, योग र साधनाले निकै महत्व राख्ने उनले बताए ।
सहरी स्वास्थ्य केन्द्र पोखरा-५ का प्रमुख गणेश खड्काले अन्यत्रको तुलनामा मनकामनाका ज्येष्ठ नागरिकमा मधुमेह र उच्च रक्तचापको समस्या निकै कम पाइएको बताए ।
तीव वटै केन्द्रमा सहभागी वडाध्यक्ष विष्णुप्रसाद बरालले ज्येष्ठ नागरिकको साथमा वडा कार्यालय रहेको बताए । उनले हरेक महिना नसकिए पनि ३ महिनामा एक पटक स्वास्थ्य परीक्षणको व्यवस्था गराउने प्रतिवद्धता जनाए । उनले भने, ‘तपाइँहरुलाई जे समस्या परे पनि निर्धक्कका साथ भन्नुस्, हामी समाधानका लागि सक्दो कोसिस गर्छौँ ।’
स्वास्थ्य केन्द्र संयोजक कल्पना भुवाइँको अध्यक्षतामा भएको कार्यक्रमहरुमा वडा सदस्यत्रय हरिमाया विक, गोविन्द पराजुली र मणिराम बराल, वडासचिव लक्ष्मण शर्मा, स्वास्थ्य केन्द्र प्रमुख खड्का, गतिशील महिला समूहका पूर्व अध्यक्ष तारा बराल, कल्पना गौतम, अहेव हरिलाल आचार्य लगायतले बोलेका थिए ।
शिविरमा स्वास्थ्य केन्द्रका गणेश खडका, शान्ति पौडेल, कमला गौतम, सुशिला बराल (स्वयंसेवी), गायत्री भुर्त्याल, डिलमाया कोईराला, गोमा सोती, जानुका थापा, पवित्रा बरालले स्वास्थ्य परीक्षण एवं परामर्श प्रदान गरेका थिए ।
शिविर सम्पन्न गर्न ज्येष्ठ नागरिक केन्द्र पोखरा-५ का गजेन्द्र बहादुर खत्री, प्रेम शर्मा पौडेल, धनपति बराल, होमनाथ बराल लगायतले तीन वटै केन्द्रमा समन्वय गरेका थिए ।












