पोखरामा टाइगर कप भलिबल प्रतियोगिता माघ १ देखि

पोखरा । गण्डकी प्रदेशको राजधानी सहर पोखरामा आगामी माघ १ देखि ६ गतेसम्म चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल’ प्रतियोगिता हुने भएको छ ।

खेलकुद विकासमा क्रियाशील टाइगर ग्रुप अफ पोखराको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन हुने प्रतियोगिताको तयारी सुरु भएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनसहित पोखरालाई खेलकुद सहरमा विकास गर्न प्रतियोगिता गरिने आयोजकको भनाइ छ ।

प्रतियोगितामा पुरुष तथा महिलाका छ/छ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने निश्चित भएको आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिता खेल्न पहिलो पटक भारतको हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आउने छ ।

महिलातर्फ चन्द्रागिरी नगरपालिका, न्यू डायमण्ड स्पोर्टस क्लब, आयोजक गण्डकी प्रदेश तथा तीन विभागीय टोली नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाउने अध्यक्ष शर्माले जानकारी दिए ।

पुरुषतर्फ श्रीलङ्काको आर्मी टोलीले पहिलो पटक सहभागिता जनाउने भएको छ । पुरुषतर्फ तीन विभागीय टोली नेपाली सेनाको त्रिभुवन क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब, हेल्प नेपाल स्पोर्टस क्लब तथा आयोजक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अध्यक्ष शर्माले यसवर्ष पुरस्कार राशीमा वृद्धि गरिएको जानकारी दिए । विजेता महिला तथा पुरुष टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ सहित ट्रफी, मेडल साथमा प्रमाणपत्र प्रदान गरिने छ ।

विजेता टोलीको पुरस्कारमा अघिल्लो वर्षको तुलनामा रु ५० हजार बढाइएको हो ।

यसैगरी उपविजेता पुरुष तथा महिलाको टोलीले रु दुई लाख ५५ हजार पाँच सय ५५ का दरले र तृतीय हुने टोलीले रु एक लाख २५ हजार पाँच सय ५५ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी महिला तथा पुरुषले जनही रु २५ हजार पाँच सय ५५ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसैगरी उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट लिव्रो, उत्कृष्ट स्पाइकर र उत्कृष्ट प्रशिक्षकलाई जनही रु १० हजार पाँच सय ५५ का दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रचार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button