शिक्षक संघको संघीय कार्यसमिति र जिल्ला अध्यक्षहरु कास्कीको ल्वाङमा

पोखरा । नेपाल शिक्षक संघको संघीय कार्यसमिति र ७७ वटै जिल्ला अध्यक्षहरुबीचको संयुक्त बैठक एवं प्रशिक्षण आजदेखि कास्कीमा हुने भएको छ । बैठक कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ८ स्थित ल्वाङ सामुदायिक होमस्टेमा हुँदैछ ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवं शिक्षा तथा प्रविधि समिति सदस्य बद्री पाण्डेले कार्यक्रम उद्घाटन गर्नेछन् भने अर्का सहमहामन्त्री जीवन परियार पनि सहभागी हुनेछन् ।

नेपाल शिक्षक संघ कास्कीका अध्यक्ष राजु क्षेत्रीका अनुसार बैठक र प्रशिक्षण पुस २७, २८ र २९ गते तीन दिनसम्म चल्नेछ ।

सो अवसरमा शिक्षक संघको विधान संशोधन, तालिम र प्रशिक्षणका लागि एकीकृतरुपमा पाठ्यक्रम निर्माण एवं शिक्षा ऐनबारे छलफल गरिने अध्यक्ष क्षेत्रीले बताए ।

यस अवसरमा कास्की कार्यसमितिद्वारा प्रकाशित ‘शैक्षिक अभिमत’ नामक स्मारिका विमोचन पनि हुनेछ ।

साथै शिक्षक आन्दोलनको समीक्षा, ४ बर्षका लागि नीति तथा कार्यक्रम तय, महासचिव र अर्थ सचिवको प्रतिवेदनमाथि छलफलसमेत भेलामा हुनेछ ।

भेलामा सबै जिल्ला र प्रदेश अध्यक्षले कार्यविवरण पेश गरी समाज परिवर्तनसँंगै शिक्षक संघलाई पनि परिवर्तन गर्दै लैजानका लागि खाका बन्ने विश्वास व्यक्त गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button