
ढोरपाटन । बागलुङमा पछिल्लो समय खेतीयोग्य जमिन बाँझो बन्दै गएका छन् । दूरदराजका किसानले सिँचाइको सुविधा नपाउँदा वर्षौंदेखि गर्दै आएका जमिनमा अहिले वनमारा पलाउन थालेका छन् । बर्सेनि सरकारले सिँचाइका लागि करोडौँ बजेट विनियोजन गरे पनि किसानले सुविधा पाउन नसकेको गुनासो बढेको छ ।
यस वर्ष पनि बागलुङमा गण्डकी प्रदेश र सङ्घीय सरकारका रु २२ करोड २४ लाखको योजना परेका छन् । प्रदेशका १०४ र सङ्घीय सरकारका २० गरि एक २४ योजना चालु आर्थिक वर्षमा कार्यान्वयनका चरणमा छन् । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बागलुङका अनुसार जिल्लामा खेतीयोग्य जमिनको १५ दशमलव १५ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइको सुविधा पुगेको छ ।
उनले यस कार्यालयबाट सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी काम हुँदै आएको बताए । सिँचाइ योजनाको माग निकै बढेको र कार्यालयले सबै क्षेत्रमा सिँचाइको पहुँच पुर्याउने लक्ष्य भए पनि पछिल्लो समय धान तथा गहुँ खेती हुने खेतबारीमा सिँचाइका योजना पर्ने गरेको उनले बताए ।
सिँचाइको पहुँच पुगेपछि धान फल्ने क्षेत्रफल पनि बढेको छ । जिल्लाको १० वटै पालिकामा योजना परेको प्रमुख पौडेलले बताए। प्रदेश सरकारले कृषि उत्पादकत्व, लाभान्वित जनसङ्ख्या र जमिन हेरेर योजना बनाउँदै आएको उनी बताउछन् ।
बागलुङ जिल्ला अहिलेसम्म खाद्यान्नमा आत्मनिर्भर बन्न सकेको छैन । यहाँका रहेक किसान आयातित खाद्यान्न मै निर्भर बन्नु परेको छ । जिल्लामा खेतीयोग्य जमिन नभएर होइन । बागलुङ भौगोलिक हिसाबले केही क्षेत्र समथर भए पनि अधिकांश भू-भाग भिरालो छ । यि क्षेत्रमा अहिलेसम्म सिँचाइको सुविधा पुग्न नसक्दा कृषकहरु परनिर्भर पर्नु परेको निसीखोला बडिगाड गाउँपालिका-८ का तिलबहादुर घर्ती मगरले बताए।
ग्रामीण क्षेत्र भिराले भए पनि गहुँ खेती राम्रो हुने गरेको भन्दै हिउँदमा लामो समय खडेरी परे उत्पादनमा ह्रास आउने उनको भनाइ छ । सिँचाइको सुविधा भए वर्षभरी खान पुग्ने बाली बारीमै उत्पादन गर्न सकिने भए पनि सामान्य कुलोसमेत नहुँदा आयातित खाद्यान्नमा भर पर्नु परेको गुनासो पोखे ।
“हामीहरु सधैँ बाहिरबाट चामल, मिठो लिएर जीविका चलाउनु परेको छ, बारी प्रसस्तै छन्, के गर्नु पानी छैन, पानी नभए पनि उत्पादन पनि थोरै हुन्छ, पचासौँ रोपनीमा लगाएको मकै, गहुँले वर्षभरी खान पुग्दैन, बारीमा उब्जेकोले नपुगेपछि किन्ने उही विदेशी चामलनै हो,” उनले भने, “गाउँका बारी भारोलो छन्, भिरालोमा धान त फल्दैन तर राम्रो कुलो हुन्थ्यो बने मुहानबाट पानी लिएर लगाउन त सकिन्थ्यो, अहिलेसम्म यो ठाउँमा सिँचाइका लागि कुलोको योजना पर्न सकेको छैन ।” रासस





