‘घिउ, चाकु र तरुलसँग कविता’ मा वसन्त गौतम

पोखरा । पोखरामा क्रियाशील साहित्यप्रेमीको ‘पुच्छारसिटे अभियान’अन्तर्गत आज ‘घिउ, चाकुु र तरुलसँग कविता’ मा कवि डा वसन्त गौतमले कविता वाचन गरेका छन् ।
पुछारसिटे अभियान, पोखराद्वारा आयोजित एकल कविता वाचनको नाम नै थियो, ‘घिउ, चाकु र तरुलसँग कविता’ पुछारसिटमा वसन्त’ ।
पुछारसिटे अभियानले आयोजना गर्ने एकल कविता वाचनको आठौँ शृङ्खलामा कविता वाचकका रूपमा कवि वसन्त गौतमलाई ल्याइएको अभियानका संयोजक सञ्जीव पौडेलले बताए ।
विभिन्न साहित्यिक प्रतिभालाई अभियानका माध्यमबाट अघि सार्ने गरिएको पौडेलले बताए । कार्यक्रममा पछाडिको सिटबाट उठेर कविता सुनाउँदै अगाडि आएका गौतमले सुरुमा
“जुनेली साँझ
म यात्राको तयारीमा छु
लाग्छ,
म सधैँभरि यात्राको तयारीमा छु
भगवान !
जीवन के हो ?
यात्रा वा यात्राको तयारी ?”
भन्दै आफ्नो कविता वाचन सुरु गरेका थिए । कविता वाचनकै कममा आफ्ना जीवनका भोगाइ र अनुभवसहित करिब डेढ दर्जन कविता प्रस्तुत गरेका थिए । प्रेम, समाजका विद्यमान अवस्था, बेथितीका साथै राजनीतिक विसङ्गति आदि उहाँका रचनामा प्रस्तुत भएको थियो ।
विसं २०७४ मा स्थापित अभियानले साहित्य, शिक्षा र पर्यटनका क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ ।
संस्थाले हरेक असार १५ मा दही, चिउरासँग कविता र माघ १ का घिउ, चाकु र तरुलसँग कविता गरी दुई एकल कविता वाचन नियमित आयोजना गर्दै आएको छ ।
यसअघि पुुछारसिटे अभियानअन्तर्गत प्रकट पङ्गेनी ‘शिव’, अल्पज्ञानी, अर्जुन ढकाल, लक्ष्मण थापा, अमृत क्षेत्री, सरस्वती श्रेष्ठ ‘सरू’, इन्द्र राना ‘प्रतीक’ एकल कविता वाचनमा प्रस्तुत भइसकेका छन् ।
चिउरा, तरुल, सखरखण्ड, खुँदो, घिउ, चाकु, तिलको लड्डु आदि खानेकुरासमेतको व्यवस्था गरिएको कार्यक्रममा कवि तीर्थ श्रेष्ठ, विश्लेषक विश्व सिग्देल, पोखरा प्रज्ञा-प्रतिष्ठानका कुलपति पद्मराज ढकाल, साहित्यकार डा ईश्वरमणि अधिकारी, दीपक समीप, लक्ष्मण थापा, गनेस पौडेल, रीता अधिकारी, अल्पज्ञानी, निष्प्रभ सजीलगायत सहभागी थिए । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button