पोखरा-३३ स्थित शान्ति उदय माविको ६४औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी वरपाण्डेथुम कैलाशस्थित शान्ति उदय माविको ६४औं वार्षिकोत्सव तथा ६५औं अभिभावक दिवस सम्पन्न भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले सार्वजनिक विद्यालयमा राम्रो पढाइ हुदैन भन्ने भास्य परिवर्तन हुन आवश्यक रहेको बताइन् । विद्यार्थी संख्या कम छ भन्ने आधारमा विद्यालय कमजोर छ भन्न नहुने उनको भनाइ छ ।

विद्यालय राम्रो बनाउने काममा सबै पक्षको समान भूमिका हुने भन्दै उनले विद्यालय कस्तो बनाउने भन्ने स्थानीय तहलाई अभिभारा रहेकाले त्यसको सम्पूर्ण अधिकार र दायित्व स्थानीय तहमा निहित रहेको बताइन् ।

गण्डकी प्रदेशसभा सदस्य भीमबहादुर कार्कीले अन्तर्राष्ट्रिय जगतमा प्रतिस्पर्धी दक्ष जनशक्ति उत्पादनका योजना र आवश्यक नीति निर्माणमा आफूहरू हरहमेसा लागिरहने बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, नेपाल पर्यटन बोर्डका सदस्य मदन कुमार आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष शिवराज आचार्य, प्रधानाध्यापक टेकनारायण गिरी, पूर्व प्रधानाध्यापक कमलप्रसाद आचार्य, साबिक भरत पोखरी गाविस पूर्व अध्यक्ष यज्ञप्रसाद अधिकारी, पूर्व उपाध्यक्ष मनोहर आचार्य, पूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोती भुजेल लगायतले बोलेका थिए ।

सोही अवसरमा मेगा बैंकको सहयोगमा विद्यालय हातामा निर्मित सरस्वती मन्दिर शुभारम्भ गरिएको थियो ।

कार्यक्रममा शैक्षिकसहित विभिन्न अतिरिक्त क्रियाकलापमा विजेता विद्यार्थीहरूलाई पुरस्कृत गरिनुका साथै विभिन्न छात्रवृत्तिसमेत प्रदान गरिएको थियो भने विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद बस्ताकोटी र सञ्चालन शिक्षक देवराज पौडेलले गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button