टाइगर कप : खेल जितेर पनि आर्मी बाहिरियो, गण्डकी सेमिफाइनलमा

पोखरा । डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश पोखरामा जारी चौथो टाइगर कप भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार गण्डकी त्रिभुवन आर्मीसँंग ३-२ सेटले पराजित भएपनि सेमिफाइनलको यात्रा तय गरेको हो ।

खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेलको लिग अन्तर्गत भएको खेलमा पहिलो सेट २५-२० ले नेपाल आर्मीले जित निकाल्दै घरेलु टोली गण्डकीलाई दबाबमा राख्ने प्रयास गरेको थियो ।

दुबै टोलीलाई जित्नैपर्ने दबाबका साथ मैदानमा उत्रिएपनि दोस्रो र तेस्रो सेट गण्डकीले २०-२५ र १७-२५ ले जित्दै खेलमा पुनरागमन गर्न सफल भयो । तर चौथो र पाँचौ सेट २५-२१ र १५-६ ले खेल जितेको आर्मी प्रतियोगिताबाट बाहिरिएको छ ।

गण्डकीले सेमिफाइनलमा ग्रुप बी को विजेता सशस्त्र प्रहरीको एपीएफ क्लवको सामना गर्नेछ ।

लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३-२ को सेटमा हराएको थियो ।

हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो ।

समूह बि बाट एपीएफ विजेता र श्रीलंका आर्मी टिम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

शुक्रबार हुने पुरुषतर्फको सेमिफाइनलमा हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोस्रो खेल एपीएफ र गण्डकीका बीच हुनेछ ।

त्यस्तै महिलातर्फ तेस्रो स्थानका लागि हुने खेलमा नेपाल आर्मीको त्रिभुवन क्लवले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

टाइगर कप भलिबल प्रतियोगिता अन्तर्गत शुक्रबार तीन खेल हुने संस्थाका अध्यक्ष नारायण प्रसाद शर्माले जानकारी दिए ।

यता, महिलातर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरीको एपीएफ क्लब र चन्द्रागिरी न्यू डायमण्ड बीच उपाधि भिडन्त पक्का भएको छ ।

जारी प्रतियोगिताको दोश्रो सेमीफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३-० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउँदै एपीएफ क्लबसँग भिडन्त पक्का गरेको छ ।

सम्पन्न खेलमा पहिलो सेट २५-१९ ले दोस्रो सेट २५-१८ र तेस्रो सेट समान २५-१८ ले आफ्नो पक्षमा पार्दै पहिलो पटक न्यू डायमण्ड फाइनलमा प्रवेश गरेको छ खेलमा टाइगर अफ दि म्याच सलिना बुढामगर घोषित भएकी छन् ।

सम्पन्न एक अर्को सेमीफाइनलमा नेपाल आर्मीको त्रिभुवन क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ उपाधि नजिक पुगेको छ ।

दोस्रो र तेस्रो सस्करणको च्याम्पियन एपीएफले बिहीबार उत्कृष्ट खेल प्रदर्शन गर्दै फाइनलमा प्रवेश गर्न सफल भयो ।

सम्पन्न खेलमा एपीएफले पहिलो दुई सेट १९-२५ र २०-२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला ३ सेट २५-१३, २५-१६ र १५-१३ ले खेलमा फर्किर्दै उपाधि नजिक पुगेको हो ।

पाँचौ सेट जारी रहँदा एपीएफ ७-२ ले पछि थियो । आर्मीले आफ्नो अग्रतालाई जोगाउन सकेन ।

आर्मीको एकपछि अर्को गल्तीको फाइदा उठाउँदै अन्ततः एपीएफ फाइनलमा स्थान पक्का गर्न सफल बन्यो ।

खेलमा एपीएफका सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भएकी छन् ।

जारी प्रतियोगितामा अविजित रहँदै एपीएफले उपाधिका लागि बलियो दाबेदारी प्रस्तुत गरेको छ ।

चौथो सस्करण जितेमा एपीएफले टाइगर कपको उपाधिमा ह्याट्रिक समेत गर्नेछ ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५-२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५-१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने संस्थाका सचिव डिबी नेपालीले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button