हिँउ माथि सर्न थालेपछि चिन्तित मनाङबासी

मनाङ । नदी किनारै किनार सुन्दरता थप्दै हाँसिरहेको हिमाल र अग्ला पहाडका चुचुरा हेर्दै उकालो चढ्ने क्रमसँगै स्वर्गीय आनन्द लिन पाइन्छ मनाङमा जसबाट प्राकृतिक सौन्दर्यताको पूर्ण रुपमा अनुभूति गर्न सकिन्छ । हिमालबाट आएको मर्स्याङ्‌दी नदीको सङ्लो, कञ्चन अनि सफा पानी र स्वच्छ हावाको महसुस गर्दै प्राकृतिक सुन्दरताको भरपुर रसास्वादन गर्न पाइने क्षेत्र पनि हो मनाङ ।

यस स्वर्गीय आनन्दको क्षेत्रमा पुग्न विदेशी मात्रै नभई नेपाली पनि उत्तिकै आतुर हुने गर्छन् । कैयौँ मानिस यस क्षेत्रमा पुग्न लालायित हुने गरेका छन् । प्रकृतिसँग रमाउने क्षेत्रकै रुपमा विश्वमा परिचय बनाएको हिमाली जिल्ला मनाङको मुहार बिस्तारै फेरिँदै गएको छ ।

विश्वले स्वर्गका रुपमा बयान गर्ने र प्रचारप्रसार गर्ने मनाङमा जलवायु परिवर्तन त टाढाका कुरा हुन् । मनाङलाई प्रत्यक्ष रुपमा देखिने र भेटिने कुराले नै कुरुप बनाउन थालेको छ । विगतको तुलनामा मनाङ पुग्न सडक सञ्जालले सहज र छिटो बनाएको छ । विभिन्न खालका प्रदूषण पनि बढ्दो छ । प्रत्यक्ष रुपमा जलवायु परिवर्तनको असर देखापरेको छ । यसका साथै मानवीय तवरबाट हुने अन्य फोहरमैला पनि बढ्दै छ ।

यात्रामा निस्कने पर्यटक तथा स्थानीयले हिमाली क्षेत्र र चिसो भएकाले प्याकेटका खानेकुरालाई प्राथमिकता दिएका छन् । प्लास्टिकका प्याकेटका खाद्यवस्तुको वजन कम हुँदा उपयोग बढेको पाइन्छ । यसबाट निस्कने प्लास्टिकजन्य फोहरमैला मनाङमा बढ्दै गएको छ ।

मनाङमा वर्षा 

कम पानी पर्ने परिचय बनाएको मनाङमा बिस्तारै वर्षा हुन थालेको छ । जसले गर्दा विश्वले उत्सर्जन गर्दै आएका विभिन्न असरदार वायुले यहाँका प्रकृतिलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको छ । विसं २०७८ जेठ १४ र असार १ मा मर्स्याङ्‌दी नदीमा विनाशकारी बाढी आउनु यसकै प्रभावका रुपमा विश्वले लिएको छ । यही बाढीले यहाँका प्राकृतिक सुन्दरतालाई प्रभाव पारेको छ । यसले पनि यहाँको प्राकृतिक रुप फेरिएको छ ।

कहिल्यै बाढी नआएको मनाङमा पहिलोपटक आएको देखेको मनाङ ङिस्याङ गाउँपालिका–१ माथिल्लो पिसाङका ७० वर्षीय याङदुङ गुरुङले बताए । उनले भने, “हामी जन्मिएर बुढो भयौँ । मर्स्याङ्‌दी नदीमा बाढी आएको कहिल्यै देखेका थिएनौँ । खै के भएको हो बुझ्नै सकिएन । पृथ्वीमा के फेरिँदैछ कुन्नि पहिले नआउने नदीमा बाढी आयो ।”

बाढीले भौतिक पूर्वाधार र यहाँको प्रकृतिलाई धेरै असर पुर्‍याएको छ । उनले भने, “नदीको वितण्डाले घर, बस्ती बगायो । प्रकृतिले नै बनाएको अनौठो संरचना पनि बाढीले परिवर्तन भयो ।” शान्त र सुन्दर वातावरण रहेको मनाङ अहिले फेरिँदै गएको छ ।

फोहरमैला बढ्दै

बिस्तारै मानव जीवनशैली परिवर्तन हुँदै गएको छ । प्राङ्गारिक खाद्यान्नलाई निरुत्साहित गर्दै बजारमा आएका प्लास्टिकका प्याकेटमा भएका खानेकुरालाई प्रोत्साहन गरिएको छ । जसले गर्दा रमणीय र प्राकृतिक क्षेत्र परिवर्तन हुँदै गएका छन् ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले यहाँ फास्ट फुडका रुपमा प्याकेटमा बन्द गरिएका सामानको उपभोग बढ्दै गएको छ । यसले प्लास्टिकजन्य तथा सिसाजन्य फोहरमैला बढ्दै गएको छ । फास्ट फुडका रुपमा उपयोग गरिएको खाद्यवस्तुको प्याकेट जथाभावी फालिँदा यहाँको प्राकृतिक सुन्दरतामा कुरुपता थपिन थालेको छ । फालिएका प्याकेट जताततै फोहरमैलाको डङ्गुर बन्न थालेको स्थानीय फुर्वा लामाले बताए ।

उनले भने, “यहाँबाट निस्कने प्लास्टिकजन्य फोहरमैलाको व्यवस्थापन हुन सकेको छैन । यस्ता फोहर बढ्ने क्रममा रहेकाले व्यवस्थापनमा ध्यान जानु आवश्यक छ । उपयोग गर्ने व्यक्ति सचेत भएमा यसको निराकरण गर्न सहज हुन्छ ।”

मनाङ पर्यटकीय क्षेत्र भएकाले स्थानीय तहले नै फोहर व्यवस्थापन गरेका छन् । पछि समस्याका रुपमा विकास हुने भएकाले समयमा नै फोहर व्यवस्थापनमा सचेतता अपनाउनुपर्नेमा उनको जोड छ ।

पदमार्ग र हिमाल जोखिममा 

हिमाल र पदमार्ग नै मनाङको मुख्य आकर्षणको केन्द्र हो । हिमाल र पदमार्ग नै जोखिममा छन् । हिउँ माथि सर्दै गएको छ । जसले बगर र कालापत्थर बन्ने क्रम बढेको छ ।

हिमालमा हिउँ नै कम देखिन थालेको छ । हिउँदमा नै हिमालमा हिउँ कम देखिनु जलवायु परिवर्तनको प्रत्यक्ष असर परेको विज्ञको भनाइ छ । विभिन्न क्षेत्रबाट गरिँदै आएको अध्ययनले हिमालमा प्रभाव देखिने गरेको विज्ञको बुझाइ छ ।

पदयात्रा र हिमाल नजिकबाट हेर्न विश्वका पर्यटक यहाँ आउँछन् । मुख्य आकर्षण बनेका प्राकृतिक क्षेत्र नै जोखिममा परेपछि कसरी आउँछन् त पर्यटक ? यो विषयमा बृहत् छलफल आवश्यक छ । सरकारले यस्ता प्राकृतिक सौन्दर्यताले भरिएका आकर्षक क्षेत्रको संरक्षणमा प्राथमिकता दिनुपर्ने स्थानीय याङदुङ गुरुङ बताउँछन् ।

उनी भन्छन्, “बिस्तारै हिमाल पनि माथि सर्दै गएको छ । पहिले त अलि माथि हिँडे भेटिन्थ्यो अहिले त धेरै माथि पुग्नुपर्छ । हिमालमा हिउँ नै देखिँदैन । पदमार्ग पनि बिस्तारै मासिएको छ । पदमार्गमा सडक बनेको छ । अनि केको पदमार्ग ? कि त पदमार्गको विकल्प खोज्नुपर्छ ।” पदमार्गमा हिँड्न रुचाउने भएर नै पर्यटक आउने हो । पदमार्गको संरक्षण गर्नुपर्नेमा स्थानीयवासीको जोड छ ।

हिउँमाथि सरेसँगै हिमालको तल्लो क्षेत्रमा पातपतिङ्गर बिनाको पहाड बनेको छ । ती ठूला चट्टानयुक्त पहाडमा न त खेतीपाती हुन्छ । उपयोगविहीन चट्टान देखिने गरेको छ । यसरी हिमालका हिउँ माथि सर्दै गर्दा पानीका मुहान समेत एक ठाउँमा सुके अर्को ठाउँमा देखिने भएको स्थानीय गुरुङ बताउँछन् । “प्रस्ट उदाहरण हेर्ने हो भने गङ्गापूर्ण ताल नै देख्न सकिन्छ”, उनी भन्छन्, “अरू के खोज्ने हो र ? हामीले हेर्दा हेर्दै सुक्यो त ताल ! यहाँ सुक्यो अरू ठाउँमा नयाँ ताल देखिन थालेका छन् ।” केही ठाउँमा त बस्तीमा खानेपानीको मुहान नै सुकेर अन्तबाट ल्याउनुपर्ने भएको छ ।

फेरिँदै व्यवसाय 

जलवायु परिवर्तनको बढी प्रभाव हिमाली क्षेत्रमा परेको छ । स्थानीयवासी जलवायु परिवर्तनको प्रभावले हिमालमा हुने पशुपालन व्यवसाय फेर्न बाध्य हुन थालेका छन् ।

नासों गाउँपालिका-४ का पशु व्यवसायी सुरेश थकाली वातावरणमा आएको परिवर्तनले पशुपालनमा समस्या हुन थालेको बताउँछन् । व्यावसायिक रुपमा पशुपालनमा लागेका उनी मौसम फेरिँदा पशुपालन घट्न थालेको बताउँछन् ।

विगतमा याक, चौँरी पाल्दै आएका थकालीको गोठमा अहिले झोपा (चौँरी र गाईको क्रस) छ । याक, चौँरीको चरण क्षेत्र घट्ने क्रममा रहेकाले झोपा पाल्न थालेको उनले बताए । “पशु व्यवसायमा लेकका खर्कतर्फ जान चाहँदैनन् । यहीँ राखे याकचौरी पाल्न सकिँदैन । पहिला ६०/७० याक, चौँरी पालेको थिएँ, अहिले ४०/५० झोपा पाल्न थालेको छु”, व्यवसायी थकालीले भने ।

पुख्र्यौली पेसा धान्नै मुस्किल भएको उनको भनाइ छ । “बिस्तारै मैले  व्यवसाय फेर्दै गएको छु । युवा जति पढ्न र अन्य व्यवसायतर्फ आकर्षित भएका छन् । अधिकांश त विदेश पलायन हुन्छन् । जसले गर्दा पुर्ख्यौली पेसा जोगाउन सकस छ”, थकालीले भने । पशुपालन कम हुँदै गएपछि  डेरी खोलेर व्यवसायलाई विस्तार गरेको उनले बताए ।

उमेर बढ्दै गएपछि अब स्वास्थ्यले पनि साथ दिँदैन । खर्कसम्म पुग्नै मुस्किल हुने गरेको उनले बताए । पशुपालनतर्फ प्रोत्साहन गर्न पालिकाले विभिन्न अनुदानका कार्यक्रम ल्याए पनि पशुपालन घट्दो छ ।

परम्परागत घर मासिँदै 

हिमाली जिल्ला मनाङमा बिस्तारै परम्परागत घर मासिँदै छन् । हिउँको पानीले चल्ने मनाङमा वर्षा हुन थालेसँगै परम्परागत माटोका घर मासिँदै छन् । वर्षाले माटोका घर चुहिने र भत्किने भएपछि आधुनिक तवरबाट कङ्क्रिटको घर बनाउन थालिएको छ ।

कङ्क्रिटको घर निर्माणले यहाँका परम्परागत माटोका घर लोप हुन थालेका छन् । यहाँ कमै मात्रामा परम्परागत घर देख्न पाइन्छ । स्थानीय कर्माछिरिङ गुरुङ भन्छन्, “पहिले मनाङमा वर्षा हुँदैन थियो । अहिले हिउँ कम पानी बढी पर्न थालेको छ । खै के भएको हो । मौसम पनि फेरिँदै जाने रहेछ कि के हो ?”

पानी पर्न थालेपछि मनाङमा परम्परागत माटोका घर पाउनै मुस्किल हुन्छ । उनी भन्छन्, “पानी चुहिने घरमा यस्तो चिसो ठाउँमा बस्न सकिँदैन । जसरी हुन्छ कङ्क्रिटको घर त बनाउनै पर्‍यो नि ! नत्र पानी पर्दा चुहिएर बस्न सकिँदैन । मनाङका सबैजसो ठाउँमा कङ्क्रिटको घर बन्दै गएका छन् । पुरानो घरको आकर्षण बढी छ भनेर नहुने रहेछ । मौसमले हामीलाई चुनौती दिन्छ के गर्नु र ? यहाँका स्थानीयले पानीबाट जोगिन पनि कङ्क्रिटको घर बनाउन थाले ।”

यहाँ लोकप्रिय मानिएको परम्परागत घरलाई संरक्षण गर्न नसकिए भविष्यमा आउने पर्यटक तथा नेपालीलाई नै कथाजस्तो लाग्छ । यसको संरक्षणमा स्थानीयसँगै सरकार सचेत हुनुपर्छ ।

ताल हराउँदै

मुस्किलले चार्टर्ड वा कार्गो फ्लाइट मात्रै देखिने हुम्डे विमानस्थल आफैँमा पर्यटकीयस्थल झैँ बनेको छ । केही वर्षअघिसम्म आँखैसामु देखिने ग्लेसियर वा हिमनदी भने तस्बिरमा मात्रै सीमित हुन थालेका छन् ।

माथिल्लो मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राका गाउँमा जन्मे-हुर्केका कालु घले घरआँगनसम्म बहेर आइपुग्ने हिमनदीको रङ र प्रकृतिको परख सम्झिन्छन् । उनी भन्छन्, “अरूभन्दा पनि तीन हजार आठ सय २० मिटर उचाइको विन्दुमा रहेको गङ्गापूर्ण तालको आकर्षणले पर्यटक तान्न सकिएला भन्ने थियो । यो ताल  अहिले मैदान झैँ बनेको छ ।”

घले भन्छन्, “स्विस भूगर्भविद् टोनी हागनले सन् १९५७ मा गङ्गापूर्ण तालको तस्बिर लिएर प्रचारमा आएपछि यो ताललाई अहिलेसम्म भौगर्भिक बनोट र जलवायु परिवर्तनको अध्ययन गर्ने आधार बनाइएको छ ।” झन्डै नौ किलोमिटर लामो गङ्गापूर्ण ग्लेसियरको बहाव हरेक वर्ष खुम्चँदै गएकोबारे इन्स्टिच्युट अफ टिबेटियन प्लेटो रिसर्चले अध्ययन गरिसकेको छ ।

अनुसन्धान समूहका एक अनुसन्धाता शालिकराम सिग्देलका अनुसार, जलवायु परिवर्तन र अनपेक्षित हिमपहिरो, वर्षा आदिले गङ्गापूर्णजस्ता तालको अस्तित्व लोप हुनसक्ने सम्भावना बढेको छ । अन्वेषकका बुझाइमा, यो त्रासको स्थिति उब्जिए पनि मनाङ ङिस्याङ गाउँपालिका भने गङ्गापूर्ण ताललाई फेरि पुरानै स्वरूपमा ल्याउने योजनामा अघि बढेको छ ।

“अहिले अस्तित्व नै नदेखिने ताललाई पुरानै स्वरूपमा ल्याउन गाउँपालिकाले रु तीन करोड पाँच लाख बजेट छुट्याएको छ”, गङ्गापूर्ण ताल अवस्थित रहेको मनाङ ङिस्याङ गाउँपालिका-६ का वडाध्यक्ष सोनाम गुरुङ भन्छन्, “टेन्डर पनि भइसकेको छ । अब पुरिएको तालबाट माटो, बालुवा झिक्ने काम चाँडै सुरु गर्छौँ ।”

भिजिट–मनाङ अभियानका अगुवा फुर्वा लामा गङ्गापूर्ण, तिलिचोजस्तै आकर्षक नयाँ ताल मनाङमा भेटिने क्रम जारी रहे पनि आधा शताब्दीदेखि अध्ययन र अनुसन्धानको विषय रहेको गङ्गापूर्णजस्ता हिमतालको संरक्षण  प्राथमिकतामा रहनुपर्ने बताउँछन् । फुर्वासहितका स्थानीय पर्यटनकर्मीको अगुवाइमा दुई वर्षअघि मात्रै चामेबाट २५ किलोमिटर दूरीमा रहेको सिङ्गर लेक (काजिनसारा ताल) (गड अफ फायर) फेला परेको थियो ।

विश्वकै अग्लो स्थानमा रहेको तिलिचो (चार हजार नौ सय १९ मिटर) भन्दा झन्डै दुई सय मिटर उँचो स्थानमा रहेको भनेर प्रचारमा आए पनि काजिनसारा तालको स्वतन्त्र पुष्टि भएको छैन । मनाङ ङिस्याङ–६ का वडाध्यक्ष गुरुङका अनुसार, गङ्गापूर्ण संरक्षणमा तीन दशमलव पाँच मिटर उचाइ र एक सय ९३ मिटर लामो बाँध (ड्याम) बनाएर २१ दशमलव आठ हेक्टर क्षेत्रफलमा गङ्गापूर्णलाई सुरक्षित तुल्याएर राख्ने योजना छ ।

मौसममा आएको परिवर्तनले नै स्वर्गको उपमा पाएको मनाङ मुहार नै फेरिने अवस्थामा पुगेको छ । यहाँका प्राकृतिक चिजबिज नै फेरिँदै गएपछि प्रकृतिमा रमाउन आउने पर्यटकको आकर्षणमा गिरावट आउने त होइन भनी सोच्नुपर्ने बेला भएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button