पोखरास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सव

  • पोखरा न्यूज
  • २०८० माघ ६
पोखरास्थित गुप्तेश्वर बहुमुखी क्याम्पसको १६औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव बहुमुखी क्याम्पसमा १ करोड ६ लाख ८७ हजार ४ सय ८५ रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

क्याम्पसको १६औं वार्षिकोत्सवको अवसरमा स्थानीय समाजसेवी हरिप्रसाद लम्साल र सुमित्रा लम्साल दम्पतिले टिकाराम लम्साल स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ १ लाख ११ हजार १ सय ११ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

क्याम्पसमा यसअघि गुप्तेश्वर गुफा महादेव अक्षयकोष १ करोड, ईन्द्रेणी सहकारीको ५० हजार, प्रा.डा. भूपति ढकाल (कमल) द्वारा पुर्खाहरुको स्मृतिमा २ लाख २२ हजार २ सय २२, खगराज कला साहित्य उत्थान अक्षयकोष १ लाख १ हजार, लीलाकुमारी अक्षयकोष १ लाख, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार, धर्मकला पौडेल स्मृति अक्षयकोष ५१ हजार १ सय ५१ को अक्षयकोष स्थापना भएको छ ।

कार्यक्रम उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भूसालले शैक्षिक क्षेत्रमा समुदाय र सामाजिक व्यक्तित्वको अतुलनीय योगदान रहँदै आएको बताए ।

गुणस्तरीय शिक्षा र सीपयुक्त जनशक्ति उत्पादन भए पनि मुलुकमा रोजगारीको अवसर प्राप्त गर्न नसक्दा शैक्षिक एवम् दक्ष युवाशक्ति विदेशिन बाध्य भएको उनको दावी छ ।

गण्डकी प्रदेशसभा सदस्यद्वयय भिमबहादुर कार्की र प्रकाश बरालले मुलुक र समाजको आवश्यकतासँंगै विश्व बजारको आवश्यकता अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

सो अवसरमा क्याम्पस सञ्चालनमा अतुलनीय योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान, विभिन्न संकायमा अध्ययनरत ८८ जना विद्यार्थीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिएको थियो ।

क्याम्पसमा शिक्षाशास्त्र सङ्काय स्नातक तह (बीएड), व्यवस्थापन (विविएस), स्नातकोत्तर तह (एमबीएस), बीएचएम र बीआइएमका कक्षा सञ्चालन हुँदै आएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिविविका डीन प्रा.डा. डिल्लीराज सुवेदी, त्रिविवि अनुसन्धान निर्देशनालयका निर्देशक सहप्राध्यापक विष्णुप्रसाद खनाल, कार्यवाहक वडाध्यक्ष विक्रम गुरुङ, नेकपा एमालेका ऋषभ तिमिला, कांग्रेसका देवीप्रसाद आचार्य, माओवादीका शालिग्राम देवकोटा, भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेल, सिर्जनशील विद्यार्थी मञ्चका अध्यक्ष शिवम शाही ठकुरी, क्याम्पस प्रमुख धर्मराज बराललगायतले शैक्षिक क्षेत्रमा क्याम्पसले पुर्याउँदै आएको योगदानका बारेमा प्रकाश पारेका थिए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस