मुद्रण संसारकै सबैभन्दा ठूलो उद्योग हो : प्रजापति

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कुमार प्रजापतिले मुद्रण उद्योग मानिस जन्मभन्दा अगाडिदेखि मृत्युपर्यन्त निरन्तर चल्ने पेसा भएपनि घरेलु उद्योगमा मात्र सीमित हुनु पुगेको बताएका छन् । मुद्रण संसारकै सबैभन्दा ठूलो उद्योग भएको भन्दै उनले पोखरामा पनि व्यवस्थित मुद्रण उद्योग खोल्नतर्फ ध्यान दिन आग्रह गरे ।

मुद्रण उद्योग संघ कास्कीको १४औं साधारणसभा उद्घाटन गर्दै अध्यक्ष प्रजापतिले यस्तो बताएका हुन् । विश्वका ठूला ठूला उद्योगहरुका सबै काम मुद्रणले धान्दै आएको भन्दै उनले ठूला उद्योग चलाउने मुद्रण आफै घरेलु उद्योगमा सीमित बन्न पुगेको बताए ।

मुद्रण क्षेत्र अझै पनि व्यवस्थित बन्न नसकेको भन्दै अध्यक्ष प्रजापतिले राज्यको ध्यान पनि यसतर्फ आकर्षित हुन आवश्यक रहेको स्पष्ट पारे ।

सस्तो, धेरै र गुणस्तरीय छपाइका लागि राजधानी र भारत पुग्नुपर्ने अवस्था अझै पनि विद्यमान रहेको भन्दै पोखरा आफै आत्मनिर्भर बन्नुपर्ने उनले खाँचो औंल्याए ।

पोखराका लागि आवश्यक पर्ने सबै छपाई पोखरामा नै गर्नेगरि अघि बढ्न मुद्रण उद्योग संघ अघि बढ्नुपर्नेमा जोड दिँदै प्रजापतिले आफ्नो तवरबाट पूर्ण सहयोग हुने स्पष्ट पारे ।

उद्योग विना देशको विकास असम्भव रहेको भन्दै उनले उद्योगी व्यवसायीलाई सुरक्षित गर्नु राज्यको कर्तव्य भएपनि सम्बन्धित निकायको चासो कमजोर रहेको बताए ।

नेपाल मुद्रण उद्योग महासंघका पूर्वअध्यक्ष माधव केसीले स्थानीय काम र स्थानीय तहमा काम गर्न नपाउँदा मोफसलका व्यवसायीहरु मर्कामा पर्ने गरेको दुःखेसो पोखे । आफ्नो नेतृत्वमा सरकारसँग केही उपलब्धिमूलक काम गरेपनि पछिल्ला वर्षमा निरन्तरता नपाएको बताए ।

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोलाले मुद्रण उद्योग क्षेत्रमा विभिन्न समस्या रहेको भन्दै समस्या समाधानमा संघले ध्यान दिए पनि पर्याप्त हुन नसकेको बताए ।

मुद्रण क्षेत्रमा दक्ष जनशक्तिको अभाव अझै पनि टड्कारो रहेको उनले बताए । साथै राज्यका निकायले पनि मुद्रण उद्योगप्रति खासै ध्यान नदिएको भन्दै यसका लागि दवाव आवश्यक भएको बताए ।

कार्यक्रममा नेपाल मुद्रण उद्योग महासंघका केन्द्रीय प्रथम उपाध्यक्ष अरुण सापकोटा, लक्की गु्रपका अध्यक्ष दिनेश अर्याल, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष कोपिला श्रेष्ठ, मुद्रण उद्योग संघ कास्कीका सल्लाहकार कृष्णराज ढुंगाना र उद्योग वाणिज्य संघ कास्कीका सदस्य बालकृष्ण कोइरालालगायतले मुद्रण उद्योग क्षेत्रमा भएका विकृति र समस्याबारे चर्चा गरेका थिए ।

संस्थाका अध्यक्ष चिन्तामणि बास्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा द्वितीय उपाध्यक्ष दिनेशचन्द्र बास्तोलाले स्वागत र महासचिव रामप्रसाद भुर्तेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

संघको अध्यक्षमा बास्तोला

पोखरा । संघको १४औं साधारणसभा तथा पाँचौं अधिवेशनले अध्यक्षमा चिन्तामणि बास्तोला, वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा रामप्रसाद भुर्तेल, द्वितीय उपाध्यक्षमा प्रकाशराज पौडेल, महासचिवमा पदम श्रेष्ठ, सचिवमा राजन कुमाल, कोषाध्यक्षमा अनन्त प्रधानाङ्ग र सहकोषाध्यक्षमा झङ्कनाथ अधिकारी (नारन) लाई निर्वाचित गरेको छ ।

कार्यसमिति सदस्यहरुमा कृष्णलाल रञ्जित, मनोज बाँस्तोला, राजन पौडेल, विश्व प्रधान र सुमन श्रेष्ठ छन् । पूर्वअध्यक्ष महेन्द्र बजीमय संयोजक, वसन्त बास्तोला र घनश्याम गौतम सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो ।

व्यवसायीको हक हितमा योजनावद्ध ढंगले अघि बढ्छु : अध्यक्ष बास्तोला

मुद्रण उद्योग संघ कास्कीका नवनिर्वाचित अध्यक्ष चिन्तामणि बस्तोलाले मुद्रण व्यवसायीको हक, हितमा योजनाबद्ध तरिकाले काम अघि बढाउने बताए । उनले संघलाई उद्योगी र व्यवसायीको साझा संस्था बनाउन प्रयत्न गर्ने भन्दै व्यवसायिक प्रवर्द्धन गर्नका लागि विभिन्न तालिम आयोजना गर्ने प्रतिवद्धता जनाए । उनले भने “हामीले सधैँ काम मात्र भनेका छौं । व्यवसाय गरेका छौं तर व्यवसायी बनेका छैनौं । यसलाई मूर्तरुप दिन तालिम तथा प्रशिक्षण आवश्यकता छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button