कांग्रेस सभापति देउवा पोखरामा

पोखरा । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा आउने भएका छन् । देउवा आज बिहान ९ बजे पोखरा विमानस्थलमा उत्रिएर पर्वत जाने कार्यक्रम छ । पर्वत जिल्ला सम्मेलन उद्घाटन पश्चात् उनी पोखरा फर्किनेछन् । मंगलबार कास्कीका कांग्रेसको जिल्ला सम्मेलनमा सहभागी हुनेछन् ।

पोखरा आएपछि सभापति देउवाले राष्ट्रिय सभा निर्वाचनको तयारीबारे आन्तरिक कार्यकर्ता भेटघाटसहित छलफल गर्ने बताइन्छ ।
सम्मेलनमा देउवासँगै उपसभापतिद्वय पूर्वबहादुर खड्का, धनराज गुरुङ, पूर्व महामन्त्री डा शशांक कोइराला, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य अर्जुन जोशी लगायत सहभागी हुँदैछन् ।

सम्मेलनमा सहभागी हुन पार्टीका वरिष्ठ नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा पनि आउने कुराकानी भएपनि एकीन नभएको सभापति किशोरदत्त बरालले जानकारी दिए ।

कास्की सम्मेलनको तयारी पूरा

नेपाली कांग्रेस कास्कीको मंगलबार हुने जिल्ला सम्मेलन २०८० को सबै तयारी पूरा भएको पार्टी प्रवक्ता युवक लामिछानेले जानकारी दिए । सम्मेलनका लागि सबै क्षेत्रीय प्रतिनिधिलाई परिचय पत्र प्रदान गरिएको र आन्तरिक सबै तयारी पूरा भएको उनले बताए । सम्मेलनको प्रचारप्रसार पनि तीव्र बनाइएको छ । सम्मेलन कास्की कांग्रेसको पार्टी कार्यालय प्रांगणमा हुनेछ ।

सम्मेलनलाई आन्तरिक एकता र मेलमिलापको बनाउने गरि छलफल र बहस तीव्र बनाइएको सचिव भानु ढकालले जानकारी दिए । सम्मेलनबाट जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म एकताको सन्देश प्रवाह गर्न चाहेको उनले बताए । सबैको सहकार्यले मात्र एकताको सन्देश प्रवाह हुने भन्दै उनले यसका लागि सबैसँग अपिल गरिएको बताए ।

सम्मेलनका लागि पार्टीको तल्लो तहसम्म छलफल र प्रचार प्रसार गर्दै आवश्यक सल्लाह, सुझाव पनि ग्रहण गरिएको सभापति किशोरदत्त बरालले जानकारी दिए । सम्मेलन एउटा कार्यक्रममा मात्र सीमित नहुने भन्दै सभापति बरालले सबै नेता कार्यकर्ताको भावना अटाउने गरि पार्टीको आगामी कार्यदिशा तय गरिने बताए । सम्मेलनमा करिब १ हजार ३ सयको सहभागिता रहने आँकलन गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button