तेइसौँ आहारारा पोखरा गोल्डकप आजदेखि, सहारा र थ्रीस्टार भिड्दै

पोखरा । तेइसौँ आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजक सहारा क्लव पोखराले जनाएको छ ।

प्रतियोगितामा १२ टोलीले सहभागिता जनाउने भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सहारा क्लव र थ्रीस्टार क्लव भिड्दैछन् ।

प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, मछिन्द्र, सङ्कटा, चर्च ब्वाइज, एपीएफ, जावलाखेल, राइजिङ स्टार, थ्री स्टार, भुटानको पारो फुटवल क्लब र आयोजक सहाराले प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, दोस्रो दिनको खेल १० गते त्रिभुवन आर्मी र राइजिङ स्टार, तेस्रो दिनको खेल ११ गते मच्छिन्द्र र जाउलाखेल, चौथो दिन माघ १२ गते एपीएफ र नेपाल पुलिस बीच हुनेछ । त्यसपछि १३, १४, १५, १६ गते क्वाटरफाइनल, १७ र १८ गते सेमिफाइनल र २० गते फाइनल खेल हुने सहारा क्लवले जनाएको छ ।

प्रतियोगिता विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

साथै सहभागी प्रत्येक टिमलाई प्रत्येक खेलको २० हजार र क्वाटरफाइनल खेल्नेलाई ३० हजार तथा सेमिफाइनल खेल्नेलाई ५० हजार उपलब्ध गराइने क्लवले जनाएको छ । प्रतियोगिताका लागि आउने टिमको यातायात, दैनिक भत्ता पनि आयोजकले नै व्यहोर्ने भएको छ ।

यस वर्षको प्रतियोगितामा १ करोड ८६ लाख ७५ हजार आम्दानी र १ करोड ४९ लाख ३ हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।

खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरकोरुपमा विकास गरौँ भन्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा यस पटक टिकट काटेर खेल हेर्ने दर्शकलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

जसमा टिकट काटेर खेल हेर्ने प्रत्येक दिन दुई जना दर्शकले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button