पोखरा महोत्सवमा १२ करोडको कारोबार

पोखरा । १२औँ संस्करणको पोखरा महोत्सवमा १२ करोड बराबरको कारोबार भएको आयोजक पोखरा युनाइटेड क्लवले दावी गरेको छ । पुस २६ मा सुरु भएर माघ ८ गते सकिएको महोत्सवमा दुई लाखभन्दा बढी दर्शक पुगेको र १२ करोड बराबरको कारोबार भएको महोत्सवका अर्थ व्यवस्थापन संयोजक सूर्यबहादुर बानियाँले दावी गरे ।

महोत्सव आफ्नो लक्ष्य हासिल गर्दै सकिएको उनले बताए । महोत्सव समापनमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गत वर्ष यति एयरको जहाज दुर्घटना भएको स्थानमा झोलुंगे पुल निर्माण हुने र यसमा पोखरा युनाइटेड क्लबसँग सहकार्य गर्ने बताए ।

उक्त क्षेत्रमा स्मृति स्तम्भ निर्माण गरिसकेको र सो क्षेत्रलाई पर्यटकीय गन्तब्य बनाउने गरी झोलुंगे पुल निर्माण गर्न लागिएको उनले स्पष्ट पारे ।

पोखरालाई नयाँ वर्ष अगाडि नै पर्यटकीय राजधानी घोषणा गर्ने बताउँदै आचार्यले पोखरामा आयोजना हुने मेला महोत्सवहरुले भाषा, कला, साहित्य, संस्कृतिको संरक्षणमासमेत टेवा पुग्ने बताए ।

रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले आगामी महोत्सवमा रुपा गाउँपालिकामा उत्पादन भएका कृषिजन्य सामग्री बिक्री वितरणका लागि गाउँपालिकासँग समन्वय गर्न आग्रह समेत गरे ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले क्लबले महोत्सवको आयोजना गरि सामाजिक काम गर्नु आफैँमा चुनौतीपूर्ण कार्य रहेको बताउँदै सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण एकजुट हुनुपर्नेमा जोड दिए ।

प्रा.डा.कृष्ण केसीले पोखरा महोत्सवले अमरसिंहचोकलाई चिनाउने काम गरेको बताए । उनले सेती नदी संरक्षणका लागि क्लबले वडा-१० बाटै काम सुरु गर्ने गरी अवधारणा बनाउनसमेत सुझाव दिए ।

पोखरा-१२ का वडाध्यक्ष सन्तोष बास्तोलाले क्लबले समाजिक काममार्फत जनतामा सकारात्मक सन्देश दिएको बताए ।

अमरसिंह मावि प्रधानाध्यापक शेरबहादुर थापाले अमरसिंहमा सभा हल अभाव रहेको बताउँदै युनाइटेड क्लबले त्यसतर्फ ध्यान दिन आग्रह गरे ।

युनाइटेट क्लबका अध्यक्ष राजु श्रेष्ठले क्लबले महोत्सवकै आयोजना गरी सामाजिक क्षेत्रमा काम गर्दै आएको बताए ।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष लोकबहादुर थापा, महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक दिनेश सुनारले पनि बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button