पोखराका जनप्रतिनिधि र कर्मचारीलाई काम, कर्तव्य र अधिकार सिकाइयो

पोखरा . पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ र सोसँग सम्बन्धित विषयक दुई दिवसीय क्षमता विकास तालिम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाद्वारा आयोजित तालिम समापनमा नगर प्रमुख धनराज आचार्यले तालिममार्फत स्थानीय सरकार सञ्चालन ऐन २०७४ का सम्बन्धमा जनप्रतिनिधिहरू प्रशिक्षण गरिएको बताए ।

स्थानीय जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकारका बारेमा थप बुझ्ने अवसरसहित पुनर्ताजकी प्रदान गर्न तालिमको महत्त्व रहने उनले बताए ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले स्थानीय सरकार सञ्चालन ऐन २०७४ तथा अन्तर सम्बन्धित विषयहरूको बारेमा ज्ञान हासिल, सङ्घीय शासन प्रणालीमा तहगत अन्तरसम्बन्ध, जनप्रतिनिधि तथा कर्मचारीहरूको काम, कर्तव्य र अधिकारका बारेमा प्रशिक्षण प्रदान गरिएको बताए ।

यस्तै, योजनाको अवधारणा, प्रकार, चरणहरू वडा स्तरमा गरिने योजना तर्जुमाको प्रक्रिया अवलम्बन, स्थानीय तहको वार्षिक बजेट तथा वित्त व्यवस्थापन, स्थानीय तहमा न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्र, स्थानीय तहमा सूचनाको हकको महत्त्व लगायतका विषयमा तालिम दिइएको थापाले बताए ।

तालिममा प्रशिक्षकहरू नेपाल सरकारका पूर्व सचिव एवं कानुनविद् काशीराज दाहाल र स्थानीय शासन विज्ञ डा.सीता ढुङ्गानाले प्रशिक्षण दिएका थिए ।

तालिममा वित्त व्यवस्थापनमा विषयमा महानगरको वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराम पौडेल र नागरिकता तथा राष्ट्रिय परिचयपत्र सिफारिस सम्बन्धमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले प्रशिक्षण दिएका थिए ।

पहिलो चरणमा ११ वडाका कार्यपालिका सदस्यसहित जनप्रतिनिधि र कर्मचारीहरू दिइएको तालिम दोस्रो र तेस्रो चरणमा बाँकी २२ वडाका जनप्रतिनिधि, कार्यपालिका सदस्य र कर्मचारीहरूलाई प्रदान गरिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button