फेरियो बागलुङ निसी गाउँको स्वरुप

ढोरपाटन । छेउमै कलकल बग्ने निसीखोला। माथिपट्टि अग्ला भिर पहरा। बीच भाग हुँदै रुकुम जोडिएको मध्यपहाडी लोकमार्ग। आडमै छ निसी गाउँ। स-साना ढुंगा माटोले बनेका कलात्मक घर। बाक्लो मगर बस्ती। बाहिरबाट यहाँ आइपुग्ने जोकोहीलाई आकर्षित गर्छ।

अझ यहाँको भाषा, कला र संस्कृतिले त झन् लोकमार्गमा गुड्ने गाडीलाई रोक्ने गर्छ। गाडीमा यात्रा गर्नेले रोकिएर निसी गाउँको अवलोकन गरेर मात्रै आफ्नो गन्तव्यतर्फ लाग्ने गर्छन्।

केही समथर त केही भिरलो भूभागले भरिएको निसी गाउँमा केही धान फल्ने खेत त केही मकै फल्ने बारी छन्। कृषि र पशुपालनमा आश्रित यहाँका स्थानीय पछिल्लो समय व्यापार व्यवसायमा पनि लाग्न थालेका छन्।

बागलुङको सुदूरपश्चिममा पर्ने निसी गाउँ निसीखोला गाउँपालिका-५ मा पर्छ। एक दशक अगाडिसम्म सेवा सुविधाको हिसाबले निकै दुर्गम मानिने यो गाउँ अहिले सुगम बनेको छ। मगर खाम भाषा बोल्ने यहाँका स्थानीयको आफ्नै परम्परा छ।

वर्षौंदेखि दुर्गमको पीडा भोगेको निसी क्षेत्रको अहिले भने मुहार फेरिएको छ। २०६४ सालमा निसी गाउँ मध्यपहाडी लोकमार्गले जोडिए पनि २०६६ सालदेखि गाडी गुड्न थालेका थिए। त्यसभन्दा अगाडि निसीमा कुनै पनि सुविधा थिएन। सबैभन्दा नजिकको बजार बुर्तिबाङ थियो। बुर्तिबाङ आइपुग्न पनि एक दिन पूरै लाग्ने गथ्र्यो। अहिले गाडीमा ४५ मिनेट लाग्छ।

सडक यातायातको पहुँचसँगै यहाँको मुहार फेरिन थालेको हो। २०७७ सालमा मध्यपहाडी लोकमार्ग कालोपत्रे भएपछि यहाँ निकै चहलपहल बढेको छ। पहिले साना झुपडी रहेका ठाउँमा अहिले ठूला-ठूला पक्की घर भवनहरु बन्न थालेका छन्। मौलिक घर विस्थापित हुँदैछन्। गाउँमा आएको परिवर्तनले बूढापाकालाई अचम्मित बनाएको छ।

दैनिक उपभोग्य सामान ल्याउनका लागि कैयौँ दिन लगाएर बुटवल पुगेकालाई अहिले घरै छेउका पसलमा पाउन थालेपछि दंग छन्। स्थानीय ९० वर्षीया पूरा सुनारले २२ दिन लगाएर बुटवल, देउखुरी र तानसेनबाट नुन, चामल लिएर उपभोग गरेको स्मरण गरिन्। अहिले गाउँमै यति धेरै सुविधा आउँछ भनेर कल्पनासमेत नगरेको उनको भनाइ छ।

“अहिले घरले निसी भरिन थाल्यो। पहिले घर थोरै थिए। बिरामी हुँदा अस्पताल थिएन। ओखतीमुलो  गर्नका लागि धामी झाँक्रीबाहेक केही थिएन,” उनले भने, “अहिले त घर नजिकै बिरामी भएपछि उपचार पाइन्छ। उतिबेला जुत्ताचप्पल हुँदैनथ्यो। खाली खुट्टा हिँड्थ्यौँ। पीठो बेलुकी पाँच मुठी खान्थ्यो। बिहान पाँच मुठी खान्थ्यौँ।

शिक्षा, स्वास्थ्य र अन्य विकासका हिसाबले पनि अहिले निसी गाउँ जोडिरहेको छ। गाउँमै माध्यमिक तहको पढाइ हुन्छ। चार वर्षदेखि यहाँस्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा पशु विज्ञानको पनि पढाइ हुन थालेको छ। स्वास्थ्यका लागि गाउँपालिकाले गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छभने जटिल किसिमको उपचारका लागि बुर्तिबाङ आउनुपर्ने अवस्था छ।

सडकको सहज पहुच हुँदा बुर्तिबाङ आउनका लागि समस्या छैन। शिक्षा, स्वास्थ्य लगायत विकासका पूर्वाधारले निकै पछाडि रहेको यो गाउँ लोकमार्गले जोडिएपछि थुप्रै सम्भावनाका ढोकाहरु खुलेका छन्। लोकमार्गका छेउछाउँमा अहिले थुप्रै घर भवन धमाधन निर्माण हुँदैछन् भने गाउँको स्वरुप बजारमा परिणत हुँदैछ।

पहिले अन्धकारमय रहेको गाउँमा अहिले स्थानीय लघु जलविद्युत्‌मार्फत उज्यालो बनेको छ। कतिपय घरघरमा धारा बनेका छन् पनि कतिपय ठाउँमा बन्ने चरणमा छन्। पहिले दुर्गम हुँदा सरकारी निकायका कर्मचारी यहाँ आउन मान्दैनथे तर अहिले जिल्ला सदरमुकामसँग सिधा यातायात सञ्चालन हुने हुँदा धेरैको रोजाइमा निसी पर्न थालेको छ।

सयौँको संख्यामा भेडाबाख्रा तथा अन्य वस्तुभाउ पालेरै जीविकोपार्जन गर्दै आएकामा अहिले धेरैले व्यापार-व्यवसाय गर्न थालेको स्थानीय कर्णसिंह घर्ती मगरले बताए। समयसँगै गाउँको स्वरूप, समाज र स्थानीयको व्यवहारमा ठूलो परिर्वतन आएको उनको भनाइ छ। पछिल्लो समय बजार झर्ने र विदेश पलायन हुनेको संख्या पनि बढ्न थालेको घर्ती मगरले बताए।

सदरमुकाम बागलुङ बजारदेखि करिब १२० किलोमिटर पश्चिममा रहेको निसी गाउँबाट प्रशासनिक कामका लागि हप्ता दिन लगाएर प्रशासनमा आउनुपर्ने बाध्यता थियो।

इलाका प्रशासन, नापी र मालपोत कार्यालय बुर्तिबाङमा स्थापना भएपछि निसीबाट प्रशासनिक कामका लागि बागलुङ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ। स्थानीय ६२ वर्षीय भुलबहादुर विकले आफूहरू सरकारी कागजात बनाउन पाँच दिन लगाएर जिल्ला सदरमुकाम पुगेको अनुभव सुनाए।

अहिले बिहान उठेर हिँडियो भने चार घण्टामै बागलुङ बजार पुग्न सकिन्छ। सडकले गर्दा बजारको सेवा गाउँमा आएको र गाउँलेको जनजीवनमा ठूलो परिवर्तन आएको विकको भनाइ छ। चार वर्षअगाडि सडक कालोपत्र नहुँदा केही समस्या भए पनि अहिले धेरै सहज भएको छ।

लोकमार्गले जोडिएपछि लोकमार्ग आसपासको जग्गाको मूल्यसमेत निकै महँगो हुँदै गएको विकले बताए। एक दशकअगाडि पाँच लाखमा पाइने जग्गा अहिले २० लाख रुपैयाँमा पनि पाउन मुस्किल हुने गरेको छ। सडक छेउछाउका खाली ठाउँमा धमधम घर बनिरहेका छन्।

“पहिले खेतीपाती नहुने खाली ठाउँ अहिले ठूला-ठूला घडेरीका रूपमा लाखौँमा बिक्री हुन थालेका छन्,” उनले भने, “अबको ५/१० वर्षमा यो ठाउँ निकै विकसित हुने देखिन्छ। जग्गाको भाउ पनि आकासिएको छ। राज्यले चाह्यो भने विकास हुन धेरै समय लाग्ने रहेनछ।”

लोकमार्गले बागलुङलाई मालढुंगादेखि पातिहाल्नेसम्म जोडेको छ। पूर्वमा पर्वत र पश्चिममा पूर्वी रुकुमसँग जोडेको लोकमार्ग बागलुङ खण्डमा १४२ किलोमिटर पर्छ। त्यसमध्ये सबैभन्दा बढी खण्ड निसीखोला गाउँपालिकामै पर्ने गरेको छ।

निसीसँगै लोकमार्गले अन्य गाउँलाई पनि बजारका रूपमा परिणत गर्दैछ। विगतमा भौगोलिक विकटता र विकासका हिसाबले निकै पछाडि परेको निसी लोकमार्गका कारण मुहार फेरेको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए।

“राष्ट्रिय सडकले जोड्यो त्यसपछि स्थानीय तह पनि आयो। अहिले विस्तारै विकासले गति लिएको छ। पश्चिम क्षेत्रकै सबैभन्दा राम्रो र सम्भावना बोकेको गाउँ बनेको छ,” उनले भने, “पश्चिम र पश्चिम नेपाललाई जोड्ने सडक गाउँको बीचबाट जोडिएपछि अन्य सम्भावनाका ढोका खुलेका छन्। अब स्थानीय व्यापार-व्यवसाय र उद्यामसँग जोडिनाका साथै उत्पादनमा पनि लाग्नु पर्छ। रोजगारदेखि अन्य अवसर यहाँ सिर्जना गर्न सकिन्छ।” रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button