आईसीसी यू-१९ विश्वकप क्रिकेट : नेपाल सुपर सिक्समा प्रवेश

पोखरा । नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ एक दिवसीय विश्वकप क्रिकेटको दोस्रो चरण (सुपर सिक्स) मा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा अफगानिस्तानमाथि सनसनीपूर्ण १ विकेटको जित हासिल गर्दै नेपाल अर्को चरणमा प्रवेश गरेको हो ।
यसअघिका दुवै खेल गुमाएको नेपाललाई अर्को चरण प्रवेशका लागि अफगानिस्तानलाई जित्नैपर्ने थियो ।

उक्त गर या मरको ‘लो स्कोरिङ’ खेलमा नेपालले १४६ रनको चुनौती ४४.४ ओभरमा ९ विकेटको क्षतिमा पूरा गरेको हो । बलरहरु हावी भएको पिचमा नेपालले सनसनीपूर्ण रोमाञ्चक जित हासिल गरेको हो ।

नेपालका लागि कप्तान देव खनालले कप्तानी इनिङ्स खेलेर जितको आधार तय गरेपछिमात्र आउट भए । उनले ८९ बलमा ७ चौकाको मद्धतले ५८ रन बनाए । त्यस्तै दिपक बोहराले ४२ बलमा २७ रन जोडे ।

त्यस्तै आकाश त्रिपाठीले १६, अर्जुन कुमालले १०, सुवाश भण्डारीले अविजित रहँदै ९, दिपक डुम्रेले ५, दिपेश कणेलले ४, विपिन रावलले २, गुल्सन झाले १, आकाश चन्दले १ रन बनाए । तिलक भण्डारीले बलको सामना गरेनन् । खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै सनसनीपूर्ण प्रदर्शन गर्ने क्रममा अफगानिस्तानलाई ४०.१ ओभरमा अलआउट गर्दै १४५ रनमा रोक्यो ।

अफगानिस्तानले ८८ रन जोड्दा ८ विकेट गुमाइसकेको भए पनि नवौँ विकेटको साझेदारी राम्रो भएको थियो । आठौँ नम्बरमा आएका एएम घजानफरले आक्रामक ब्याटिङ गर्ने क्रममा २१ बलमा ३७ रन बनाए । त्यस्तै कप्तान नसिम खानले ३१ रन बनाए भने फरिदुन दाउदजाईले २९ रन बनाए ।

त्यस्तै हसन ईसकिलले २० रन बनाए । त्यसबाहेक अन्य ब्याटरले दोहोरो स्कोर खडा गर्न सकेनन् । पाँच ब्याटरले त रनको खातासमेत खोल्न सकेनन् । नेपाललाई सफलता दिलाउने क्रममा आकाश चन्द एक्लैले ५ विकेट लिए । उनको विश्वकपमा सबैभन्दा उत्कृष्ट बलिङ हो ।

त्यस्तै दिपेश कणेलले २ तथा गुल्सन झा, सुवास भण्डारी र तिलक भण्डारीले १-१ विकेट लिए । समूह डीमा नेपालसँगै अफगानिस्तान, न्यूजिल्याण्ड र पाकिस्तान रहेकामा लगातार दुई जितसहित न्यूजिल्याण्ड र पाकिस्तान अर्को चरणमा पुग्दा नेपाल तेस्रो भएर अर्को चरणमा पुगेको हो । अफगानिस्तान भने सबै खेल हारेर बाहिरिएको छ ।

सुपर सिक्समा नेपालको भिडन्त

सुपर सिक्समा नेपालले समूह ए का शीर्ष तीन टोलीविरुद्ध खेल्ने छ । सो समूहबाट अहिलेसम्म भारत सुपर सिक्समा पुगिसकेको छ भने बंगलादेश, आयरल्याण्ड र अमेरिकामध्ये दुई टिम सुपर सिक्समा पुग्नेछन् ।

सुपर सिक्समा समूह चरणको जितको अंक र रनरेट पनि जोडिने भएकाले नेपालले न्यूजिल्याण्ड र पाकिस्तानसँग बेहोरेको फराकिलो हारले रनरेट राम्रो छैन । अंक पनि नभएकाले नेपाल बिना अंक नै अगाडि खेल्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button