पोखरा । यस वर्षको सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार बाजुराका बाल गायक सुप्रिम मल्ल ठकुरीलाई प्रदान गरिने भएको छ ।
केन्द्रकी सदस्य कवि सरस्वती प्रतीक्षाको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिले बाजुराको हिमाली गाउँपालिका-६ का ११ वर्षीय मल्लको नाम अनुमोदन गरेको थियो । मल्ललाई यहि माघ २७ गते पुरस्कार प्रदान गर्ने निर्णय गरेको केन्द्रका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।
सानै उमेरमा गीत–संगीतको क्षेत्रमा क्रियाशील मल्लले अहिलेसम्म १ सय ९० वटा गीत गाइसकेका छन् । उनको स्वरमा विशेषतः लोकभाका, चलचित्रका गीत, आधुनिक, देशभक्ति, बालगीतसँगै देउडा, ठाडो भाका, गजल, सालैजो, नेवारी भाका, लिम्बू, पूर्वेली भाका, किराँती र मधेसी भाकाका गीत रेकर्ड भइसकेका छन् ।
पोखराका साहित्यकार सरुभक्तले विभिन्न क्षेत्रमा विशिष्ट प्रतिभा हासिल गरेका १६ वर्षमुनिका बालबालिकालाई सम्मान र प्रोत्साहन गर्ने हेतुले २०५६ सालमा पुरस्कारको स्थापना गरेका थिए । राष्ट्रिय बालप्रतिभा पुरस्कारको नामबाट स्थापित पुरस्कारको अक्षयकोषमा त्यति बेला एक लाख रुपैयाँ थियो ।
वार्षिक रूपमा देशभरबाट एक जना बालप्रतिभा छनोट गरी १५ हजार रुपैयाँ नगद राशि प्रदान गरिन्थ्यो । बालप्रतिभा पुरस्कार छनोट र अर्पण गर्ने जिम्मेवारी भने पोखराको कुमुदिनी होम्स स्कूलले लिएको थियो । जसबाट २०५७ सालदेखि २०६९ सालसम्म आठ जना बालबालिका सम्मानित भएका थिए ।
सम्मानित हुनेमा विश्वकै प्रथम कीर्तिमानी सगरमाथा आरोही तेम्बाछिरी शेर्पा (२०५७), नृत्य क्षेत्रबाट ज्योति थापा (२०५८), गायन क्षेत्रबाट ऋतु लामा (२०६०), कला क्षेत्रबाट शिखा कटुवाल (२०६१), कला क्षेत्रबाटै करुणा गुरुङ (२०६२), खेलकूद क्षेत्रबाट सिपोरा गुरुङ (२०६४), विज्ञान तथा प्रविधि क्षेत्रबाट कुशल केसी (२०६५) र पर्वतारोहण क्षेत्रबाट निमा छ्याङदी शेर्पा (२०६९) छन् ।
त्यसयता पुरस्कार वितरणले निरन्तरता पाउन सकेको थिएन । त्यति वेला सरुभक्त सरोकार केन्द्र नाम रहेको संस्था २०७९ सालमा सरुभक्त केन्द्र (सरुभक्त सेन्टर) नामकरण गरेर औपचारिक रूपमा दर्ता गरेको अध्यक्ष श्रेष्ठले बताए ।
केन्द्रले आगामी दिनमा पुरस्कारको राशि बढाउँदै लैजाने तथा सरुभक्त श्रेष्ठका लेख, रचनाको प्रकाशनको कार्यलाई निरन्तरता दिने उनले बताए ।
यस वर्षदेखि साहित्यकार सरुभक्तले आफ्ना बुबा गणेशबहादुर श्रेष्ठ र आमा लक्ष्मीमाया श्रेष्ठको स्मृतिमा थप १० लाख ५० हजार रुपैयाँ थपेर ११ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यही अनुसार यस वर्ष पुरस्कृत हुने बालप्रतिभालाई ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र अर्पण गरिनेछ ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution